×

वीरगञ्ज, २२ भदौ ।  वीरगञ्ज बसपार्क टर्मिनलका ठेकेदारहरुले अनावश्यक रुपमा दुःख दिएको यातायात व्यवसायीहरुले दुखेसो पोखेका छन् ।  बस सञ्चालन गर्ने कुनै पूर्वाधार नहुँदा पनि विस्तारै व्यवस्थित हुँदै जाला भन्ने ध्येयले टर्मिनलबाट बस सञ्चालन गरेपनि अहिले टर्मिनलका ठेकेदारहरुको मनोमानी बढ्दै गएको पर्सा नारायणी यातायात प्रा.ली पर्साका अध्यक्ष जगत साह कानुले बताए ।

टर्मिनलका ठेकेदार कम्पनीसँग भएको सहमतिअनुसार शूल्क बुझाउँदा पनि गत साउन महिनादेखि पूर्व सहमतिविपरित डर धाक देखाउँदै दोब्बर र दोब्बर भन्दा पनि बढी रकम असुल्न थालेको पूरानो नारायणी यातायात कम्पनी प्रा.ली.का संयोजक श्याम उप्रेतीले बताए । 

टर्मिनल कम्पनीका ठेकेदारको मनोमानी र दादागिरी बढ्दै गएपछि यातायात व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीमार्फत जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको ध्यानाकर्षण गराएका छन् । 

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म सवारी ठप्प हुँदा घर न घाटको भएका यातायात व्यवसायीहरुसँग परवानीपुरमा समेत अनावश्यक पोष्ट खडा गरी पोखरिया, भिस्वा, कलैया लगायतका बाहिरबाट सञ्चालन हुने बसहरुबाट समेत रकम असुली गर्ने कार्य भएकोमा विज्ञप्तीमार्फत आपत्ति जनाइएको छ । 

लकडाउनका कारण प्रभावित भएका यातायात व्यवसायीहरुलाई सरकारले समेत वेवास्ता गरेर सौतेलो व्यवहार गरेको नेपाल यातायात व्यवसायी राष्ट्रि महासंघ जिल्ला समन्वय समिति पर्साका संयोजक बिनोद कुमार मानन्धरले बताए । राहत सम्बन्धी कुनै नीति नल्याउँदा बैंक तथा वित्तिय संस्थाहरुले पनि राहत तथा सहुलियत नदिँदा कतिपय व्यवसायीहरु सडकमा आइसकेको मानन्धरको भनाई छ । 

यातायात व्यवसायीहरुले ९ बुँदे माग राख्दै नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएका छन् । मागको सम्बोधन नभएमा एक साताभित्र बसका साँचोहरु नगरप्रमुखलाई बुझाउन बाध्य हुने अध्यक्ष मानन्धरले बताए । 

९ बुँदे माग यस्तो छ : 

१. सम्पूर्ण बसहरुलाई वस टर्मिनल भित्रबाट नै छुटाउने व्यवस्था हुनुपर्ने ।
२. बस टर्मिनल भित्रबाट बसहरु छुटाउनको लागि चाहिने आवश्यक पूर्वाधारहरु अविलम्ब निर्माण गर्नुपर्ने । 
३. बस टर्मिनल भित्रबाट छुट्ने र राती रहने बसहरुसँग हामीसँग भएको पूर्व सहमती अनुसार नै शुल्कहरु लिने व्यवस्था गरिनु पर्ने ।
४. परवानीपुरमा ठेकेदार कम्पनीले गैर कानुनी ढंगले राखेको रकम असुल्ने पोष्ट तत्काल हटाउनु पर्ने ।
५. मिति २०७७÷०९÷२२ गते वीरगञ्ज महानगरपालिकासँग भएको सहमतीको बुँदा नं. १ मा भएको प्रयोगात्मक सहमतीलाई खारेज गर्दै बस टर्मिनलबाट छुटेका बसहरुलाई भानु चौक हुँदै गनतव्य स्थान तर्फ जाने व्यवस्था गरिनु पर्ने ।
६. बाइपास सडकमा काम नलाग्ने कबाडी बस ट्रक तथा अन्य समानहरुलाई राख्न नदिने कार्यलाई निरन्तरता दिइन् पर्ने ।

७. बाइपास सडकमा कतिपय अवस्थामा काम विशेषले केहि समयको लागि मात्र
रोकिएका बस ट्रकलाई ट्राफिक प्रहरीले लक लगाई जरिवाना बापत चर्को रकम
लिइरहेको कार्यलाई तत्काल बन्द गरिनुपर्ने ।

८. सिटीराईड, छोटो दुरी र लोकल बसहरुको हकमा दैनिक एक पटक मात्र बस
टर्मिनलबाट निस्केको शुल्क लिइनुपर्ने ।

९ं रात्री बसहरु राती ८ः०० बजे पछि बस टर्मिनलबाट छुटी घण्टाघरबाट गन्तव्य स्थानतर्फ जाने क्रममा ट्राफिक प्रहरीले रोक्ने तथा जरिवाना गरी रहेकोमा सो कार्य तत्काल रोक्नु पर्ने ।


 

Back to top