फाइल तस्बिर
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीले नेपाल छाड्ने आशय व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले आफू प्रशिक्षकबाट बाहिरिएको र 'राजनीतिक काम चालू राख्न' भन्दै व्यंगात्मक स्टाटस लेखेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादबारे प्रतिवेदन सार्वजनिक भएलगत्तै अल–मुताइरीको भनाई सार्वजनिक भएको हो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित छानबिन समितिले विवादास्पद राजीनामासम्बन्धी पोस्ट अल–मुताइरीले आफ्नो फेसबुकबाट हटाउने निर्देशन दिन परिषदलाई सुझाव दिएको थियो।
यस्तै समितिले सम्झौता गरेअनुसार अल–मुताइरीले काम मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन पनि सुझाव दिएको थियो।
यसैगरी सामाजिक सञ्जालमा कसैप्रति लक्षित गरी आफ्ना धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै परिषदले उनलाई सचेत गराउनुपर्ने सुझाव समितिले दिएको छ। छानबिन समितिले राखेपलाई बुधबार प्रतिवेदन बुझाएको हो।
फुटबलका मुख्य प्रशिक्षक अल–मुताइरीले साउन १० गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए। उनको यस्तो घोषणापछि विवाद बढेको थियो ।
विवाद समाधान गर्न राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो।