अफगानिस्तानमा तालिबान फिर्ता भएपछि निकै मुश्किललले हासिल गरिएको स्वतन्त्रताका लागि खतरा हो, विशेषगरी महिला र युवतीको स्वतन्त्रताका लागि – यो भनाई हो नोबेल पुरस्कार विजेता मलाला यूसुफजाईको ।
९ वर्ष अघि, पाकिस्तानकी मलाला यूसुफजाईले जब स्कूलको शिक्षा छोड्नका लागि तालिबानको आदेश मान्न अस्वीकार गरिन् तब उनीमाथि हमला भयो । उनको टाउकोमा गोली हानिएको थियो । मलाला यो हमलामा बाँचिन् र अब उनी बेलायतमा बस्छिन् ।
अफगानिस्तानमा परिवर्तित घटनाक्रम र तालिबानको सत्तामा फिर्तामा बीबीसी न्यूजनाइटमा उनले कुराकानी गरेकी छिन् ।
महिला अधिकारका लागि काम गर्ने मलाल यूसुफजईले अफगानिस्तानको हालको स्थितिको विषयमा चिन्ता व्यक्त गरेकी छिन् ।
उनले भनिन्, ‘म अफगानिस्तानमा हालको स्थितिका लागि असाध्यै चिन्तित छु । विशेषगरी त्यहाँ महिला र युवतीको सुरक्षाको विषयमा ।’
मलालाका अनुसार त्यहाँ बसिरहेका धेरैजसोलाई याद आइरहेको होला कि सन् १९९६ देखि २००१ मा त्यहाँ कस्तो स्थिति थियो ।
अफगानिस्तानको स्थितिमा उनी भन्छिन्, ‘मानिसहरु आफ्नो सुरक्षा, आफ्नो अधिकारका लागि निकै चिन्तित छन् । महिला स्कूल जान पाउने हो कि होइन भनेर चिन्तित छन् ।’
उनी भन्छिन्, ‘हामीले पहिले नै थुप्रै रिपोर्टमा देखिरहेका छौं कि थुप्रै युवतीलाई विश्वविद्यालयबाट फिर्ता पठाइएको छ । तीमध्ये धेरैलाई १५, १२ वर्षको उमेरमै विवाह गर्नका लागि बाध्य पारिएको छ ।’
यसअघि जब तालिबान सत्तामा थिए तब महिलाविरुद्ध अत्याचार, कठोर दण्डजस्ता थुप्रै घटना सार्वजनिक भएका थिए । युवतीमाथि स्कूल जान प्रतिबन्ध लगाइयो, तर यसपटक तालिबानका नेताले आश्वासन दिएका छन् कि नयाँ शासन पहिलाको तुलनामा भिन्न हुनेछ । तर के मलाला यो आश्वासनमा विश्वास राख्छिन् ? ’
मलाला भन्छिन्, ‘पछिल्ला वर्षमा महिलाको सक्रियता र सहभागीताले तालिबानमाथि निकै दबाब पारेको छ । उनीहरुले खुल्ला रुपमा त महिलालाई उनीहरुको काममा रोक्न सक्दैनन् तर पनि उनीहरु यसलाई निकै अस्पष्ट तरिकाले भनिरहेका छन् । यस्तोमा कुनै ग्यारेन्टी छैन ।’
मलाला मान्छिन्, ‘अहिले अफगानिस्तानमा सबैकुरा निकै सुरुवाती चरणमा छ । तर स्थानीय स्तरमा जतिपनि रिपोर्ट आइरहेका छन्, त्यो निश्चित रुपमा पीडादायी छ ।’
अफगानिस्तानबाट जे जति तस्बिर सार्वजनिक भइरहेका छन् त्यसमा विमानस्थलमा मानिसको भीड, हवाई जहाजको पछिपछि दौडिरहेका मानिस, बैंकबाहिर सयौंको भीड देख्न सकिन्छ ।
मलाला अफगानिस्तानको यो स्थितिलाई एक मानवीय संकट मान्छिन् ।
अफगानिस्तानबाट विदेशी सैनिकको फिर्ती र हालको स्थितिका लागि जिम्मेवार को हो, यो प्रश्नको जवाफमा मलाला भन्छिन्, ‘यसका लागि असाध्यै धेरै मानिसहरु जिम्मेवार छन् । धेरै देश जिम्मेवार छन् ।’
मलाला भन्छिन्, ‘अफगानिस्तानमा मानवीय सहायतमा ध्यान दिनमा मानिसहरुले निकै कम रुची देखाए । त्यहाँ लोकतन्त्रलाई बलियो बनाउनमा असाध्यै धेरै कम ध्यान दिइयो र यी सबका बीच त्यहाँ चरमपन्थी विचारधारालाई उन्मूलनमाथि असाध्यै कम ध्यान दिइयो ।’
उनी भन्छिन्, ‘मलाई लाग्छ कि हरेक देश, हरेक समूह यसमा आफ्नो हित खोजिरहेका छन् तर यो त्यो समय हो जहाँ उनीहरुले आफ्नो हितलाई किनारामा राख्नुपर्छ र मानवताका लागि साथ आउनुपर्छ ।’
मलाला जोड दिँदै भन्छिन्, ‘अफगानिस्तानमा शान्ति अफगानिस्तानका मानिसहरुका लागि मात्रै होइन, यो अफगानिस्तानका छिमेकी देश र संसारभरी शान्ति स्थापित गर्नका लागि महत्वपूर्ण छ ।’
त्यसो भए अफगानिस्तानको स्थितिमा मलालाले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सम्पर्क गरिन् ?
मलाला भन्छिन्, ‘म अमेरिकी राष्ट्रपतिसँग सम्पर्क गर्ने कोसिस गरिरहेकी छु । यद्यपि, प्रधानमन्त्री बोरिस जोनसनसँग अहिल्यै नै सम्पर्क गरेकी छैन ।’
मलालाले संसारका विभिन्न देशलाई अफगान शरणार्थीका लागि आफ्ना सीमा खुल्ला राख्न अपिल गरेकी छिन् ।