×

सांकेतिक तस्विर ।

वीरगञ्ज १९ साउन । भारतको सिमा क्षेत्रबाट प्रशारणमा रहेको नेपाली एफएम रेडियोहरु अब भारतका जनताहरुले सुन्ने पाउने छैन्न ।


भारतको बिहार राज्यका सूचना तथा जनसम्पर्क मन्त्री सञ्जयकुमार झाले आफ्नो भूभागमा नेपाली एफएम रेडियोको फ्रिक्वेन्सी प्रभाव रोक्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिन्दुस्तान टाइम्समा सोमबार प्रकाशित समाचार अनुसार झाले आइतबार केन्द्र सरकारका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरसँग भेट गर्दै नेपाली रेडियोहरुको प्रभाव रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरे । 


उनले सीमा क्षेत्रमा रहेका नेपाली एफएमले प्रसारण गरेका सामग्रीका कारण सिर्जित समस्याबारे जानकारी गराएका थिए । उनले आफ्नो राज्यमा नेपाली एफएमहरुको प्रभाव रोक्ने गरी कार्ययोजना बनाउन समेत केन्द्र सरकारसँग आग्रह गरेका छन ।


मन्त्री झाले चौबीसै घन्टा बज्ने नेपाली एफएम र अन्य फ्रिक्वेन्सीको बिहारका विभिन्न जिल्लाहरुमा सहजै पहुँच भएका कारण समस्या उत्पन्न भएको जिकिर गरेका छन ।

नेपाली एमएमले प्रसारण गर्ने कार्यक्रमहरुको पहुँच विशेषतः उत्तर बिहारका धेरै जिल्लाहरुमा छ । उनले अल इन्डिया रेडियो स्टेसनको पहुँच, तीव्रता र विस्तार गरेर नेपाली एफएमहरुको विस्तार रोक्न सकिने विकल्प सुझाएका थिएका छन ।


नेपाली एफएमहरुको विषयवस्तुको बारेमा बिहार राज्यले समय–समयमा आपत्ति जनाउँदै आएको छ । सन् २०१५ को नाकाबन्दीको समयमा पनि भारतीय पक्षले यो विषय उठाएको थियो । गत वर्ष भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाली एफएमहरुले प्रसारण गरेका विषयवस्तुको विषयमा समेत बिहार, उत्तरप्रदेश र उत्तराखण्ड राज्यका नेतृत्वले केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी निर्वाचनको समयमा बिहार राज्यका उच्च अधिकारीले नेपाली एफएमको विषयवस्तुको बारेमा चासो व्यक्त गर्ने गर्दछन् । बिहारमा हुने गाउँदेखि केन्द्रसम्मको निर्वाचनको समयमा नेपाली एफएमहरुले समाचार र अन्य विशेष सामग्री नै प्रसारण गर्ने गर्दछन् ।

सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव तथा नारायणी एफएम वीरगन्जका कार्यकारी निर्देशक गोविन्द देवकोटा भन्छन्, ‘नेपाली एफएमहरुको सीमापारिको भूगोलमा राम्रो पहुँच छ । भारतमा के भइरहेको छ, त्यहाँको सरकारले कस्तो नीति ल्याएको छ भन्ने विषयमा नेपाली एफएमहरुका लागि निकै चासोको विषय हुने गरेको छ ।’

देवकोटा भन्छन्, ‘हाम्रा एफएमले त्यहाँका राजनीतिक र अन्य गतिविधिहरुलाई पनि निकै प्राथमिकता दिन्छन् । बिहार सरकारले निषेध गरेका र प्रतिबन्ध लगाएका विषयहरु यहाँका मिडियाहरुले उठाउने गर्दछन्, त्यसैले नेपाली एफएम सीमापारि पनि पपुलर छन् ।’

केही समययता भारतले नेपाली एफएमहरुलाई नियन्त्रण गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । तर भारतले लिने कुनै पनि नीतिले भविष्यमा सीमामा रहेका नेपाली एफएमहरुलाई गम्भीर असर गर्ने भएकाले नेपाल सरकारले यो विषयमा समयमा नै सोच्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।


 

Back to top