×

वीरगञ्ज १६ सावन । पर्सा प्रहरीले व्यक्ति हत्या र लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।


प्रहरीले सर्लाही लालबन्दी नगरपालिका वडा नं. १ घर भई काठमाडौंमा बस्तै सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या र लुटपाटमा संलग्न तीन जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका वडा नं. ७ रामटोलका राम महर्जन, सोही टोलका विक्की भन्ने दिप लामा तामाङ र बारा जिल्लबा फेटा गाउँपालिका वडा नं. ३ का धनन्जय रजक रहेका छन् ।

साथै, लुटपाट गरेको अन्य धनमाल लिई फरार हुने भारत बिहार, पूर्वी चम्पारण, जिल्ला मोतीहारी घर भई बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने रवि सर्राफको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

हत्या र लुटपाटमा संलग्न ४ जनाले लुटपाट गर्ने योजना बनाई राहुल महर्जनको पुरानो चिनजानको साथी ज्ञानु पाख्रिनलाई बीरगञ्ज बोलाएको अनुसन्धानबाट खुलेको प्रवक्ता खनालले बताए । 

महर्जनको निम्तोमा आफ्ना दुइृ साथीहरुसहित बुधबार साँझ काठमाडौंबाट बीरगन्ज आएका पाख्रिन र ४ जना अभियुक्तहरुसहित ७ जना सो साँझ दीप लामा तामाङको खाली घरमा बसेका थिए । 

सबै जना रातभरि मापसे गरी बसेकोमा बिहीबार बिहान १ः ३० बजेतिर अभियुक्तहरुले आफ्नो कुकर्मलाई सफल बनाउन पाख्रिनलाई मात्र वियर किन्ने बहानामा रामटोलस्थित एकान्त स्थानको खाली स्थानमा लगेर लुटपाट गरी हत्या गरेका हुन् ।

अभियुक्तहरुले पाख्रिनको घाँटीमा लक लगाई अँठ्याई ज्यान लिई उनको सुनको सिक्री, सुनको औँठी, घडी र नगद दश हजार लुटपाट गरेका हुन् । 

सो पश्चात् लुटपाट गरेको धनमाल रवि सर्राफले राखी तत्काल फरार भएको र अन्य तीन जना फरार हुने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक प्रहरी टोलीले तत्काल उनीहरुलाई पक्राउ गरेको प्रवक्ता खनालले जानकारी दिए । 


प्रहरीले घटनास्थल तथा घटना विवरण यकिन गरी थप अनुसन्धान गर्दा तामाङले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा बरामद भएको छ ।

हाल पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।
 

Back to top