×

१५ सावन । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो चरणबाटै आउट भएकी छन् । शुक्रबार बिहान महिलाको एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।

ओलम्पिक स्टेडियमको ट्र्याकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरिन् । नौ खेलाडी रहेको उक्त हिटमा उनी आठौँ बनिन् । यस हिटबाट इरानकी फर्जानिह फसिही पहिलो बनिन् भने मलेसियाकी नबिला अलियास अजरिन दोस्रो तथा कुवेतकी अल्साममारी मुधावी तेस्रो बनिन् ।

उनले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । उनको यस स्पर्धामा उत्कृष्ट समय १२.५५ सकेन्ड थियो । महिला एक सय मिटर दौडमा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

यससँगै नेपालबाट सहभागी पाँचै खेलाडी पदकविहीन बनेका छन् । यसअघि पौडीका गौरिका सिंह र एलेक्स शाह पनि हिट चरणबाटै आउट भएका थिए । त्यसअघि सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि पदकविहीन बन्दै घर फर्किसकेका छन् ।

Back to top