वीरगञ्ज १३ साउन । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ठोरीको संयोजनमा विभिन्न पेशागत माग राख्दै ठोरी गाउँपालिका कार्यालय अगाडि शिक्षक एवं विद्यालय कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।
ठोरीको स्थगित गाउँसभा पुनः शुरू हुन लागेको पूर्वसन्ध्यामा सङ्गठनमा आबद्ध शिक्षक तथा बालविकास सहयोगी र विद्यालय कर्मचारीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
गत असार ३१ गते स्थगित भएको सभा आज हुन लागेको छ । त्यसैको तयारीमा हिजो गाउँ कार्यपालिका कार्यालय घ्याङडाँडामा गाउँ कार्यपालिकाको बैठक जारी भएको समयमा शिक्षकले प्रदर्शन गरेका हुन् ।
ठोरीमा कार्यरत सङ्घीय र गापाको अनुदानमा कार्यरत बालविकास सहयोगी, स्वयंसेवक शिक्षक, कार्यालय सहायक र कार्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्नुपर्ने, तत्काल विद्यालयमा पठनपाठन शुरू गर्नुपर्ने, शिक्षकलाई तालीम र अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने, शिक्षक र कर्मचारीलाई कोभिडविरूद्ध खोपको व्यवस्था गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको सङ्गठनका अध्यक्ष दीपेन्द्र सापकोटाले जानकारी दिए ।