×

वीरगन्ज ११ साउन । मुख्य नाका वीरगञ्जलाई पूर्वपश्चिम मार्गसँग जोड्ने ६ लेनको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग पटकपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन । २ वर्षमा निर्माण पूरा गर्ने लक्ष्यसहित काम शुरू भएको ५ वर्ष बितिसकेको छ ।

वीरगञ्जको एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाहबाट निस्किएका गाडी र बजार क्षेत्रबाट यो मार्ग हुँदै आवागमन हुन्छ । व्यापारिक महतवको यो मार्ग बारम्बार समय थप्दा पनि नसकिएपछि पुनः ६ महीना समय बढाउने तयारी भएको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने म्याद पटकपटक थपिए पनि पूरा नभएपछि पुनः ६ महीना थप्ने तयारी भइरहेको व्यापारिक मार्ग विस्तार योजनाका सूचना अधिकारी सम्पतलाल दासले बताए । कोरोना महामारीका कारण निर्माण अवरुद्ध भएकाले समय थप्न लागिएको आयोजनाले बताएको छ ।

२०७३ असारमा निर्माण थालिएको यो मार्ग २०७५ असारमा सक्नुपर्ने थियो । त्यसबेला मुआब्जा, निर्माण सामग्री आपूर्तिको अवरोध, राइटअफ वेलगायत समस्या देखाएर निर्माणमा ढिलाइ भएको थियो । आईसीपी सम्पर्क सडकदेखि पथलैया र वीरगञ्ज–परवानीपुर ३१ किलोमीटर सडकलाई ७ खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ ।

प्रमुख नाका वीरगञ्ज र बारा पर्सा औद्योगिक कोरिडोरसँग सीधा सरोकार राख्ने व्यापारिक मार्गलाई जतिसक्दो चाँडो पूरा गरिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘व्यापारिक मार्ग निर्माणमा भइरहेको ढिलाइ यो क्षेत्रको सम्भाव्यता उपयोगमा कठिनाइ भइरहेको छ,’ उद्योग समिति संयोजकसमेत रहेका गौतमको तर्क छ ।

५० मीटर फराकिलो बनाइने व्यापारिक मार्गको बीचबाट ११/११ मीटर दायाँबाँया ६ लेनको मुख्य सडक निर्माणको काम भइरहेको छ । दुवैतर्पm साढे ३ मीटरको ग्रीन बेल्ट र साढे ५ मीटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजनाले बताएको छ ।

सर्भिस लेनभन्दा पछाडि दुवै किनारमा साढे ३ मीटरमा नाली र पूटपाथ निर्माण भइरहेको छ । परवानीपुरदेखि गण्डकसम्मको २ लेनमा सञ्चालन भइरहेको त्रिभुवन राजपथ खण्डलाई भने ४ लेन बनाइनेछ ।

Back to top