×

वीरगञ्ज, १० साउन । प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जितकारले नेपाल प्रहरी पनि प्रविधिमैत्री हुँदै गएको बताएका छन् । विज्ञान र प्रविधिको युगमा पुरातनवादी परम्परालाई विस्ताथपित गर्दै नयाँ र आधुनिकर प्रविधिको प्रयोग गर्दै समय र सम्पतीसँगै जनशक्तिको खपत गर्नुपर्नेमा रञ्जितकारले जोड दिए । 

वीरगञ्ज उद्योग वाणिज्य संघले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको १ सय दिन पुगेको अवसरमा आयोजित प्रहरी नायब महानिरीक्षक रञ्जितकारसँगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराध न्यूनीकरणको लागि पनि स्मार्ट पुलिसिङ्गको अवधारणालाई अवलम्बन गर्नुपर्ने आवश्यक्ता औँल्याए । वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा वीरगञ्जमा शुरु भएको सिसिटिभी परियोजना अपराध अनुसन्धानमा सिद्ध हुने विश्वास पनि उनले व्यक्त गरे । 

डिआईजी रञ्जितकारलाई स्वागत गर्दै संघका अध्यक्ष सुवोध कुमार गुप्ताले प्रहरी र उद्योगीबिच समन्वय गर्न सके समाजमा थुप्रै परिवर्तन गर्न सकिने धारणा राखे । स्वागत मन्तव्यको क्रममा अध्यक्ष गुप्ताले शान्ति सुव्यवस्थालाई स्थायित्व प्रदान गर्नुका साथै अँझै निष्पक्ष र निर्भिक बनाउन आग्रह समेत गरे । 

सम्भावित तेस्रो चरणको कोभिड १९ को लहरलाई मध्यनजर गर्दै संघकै सक्रियतामा नारायणी अस्पतालमा निर्मित बाल सघन चिकित्सा ईकाई प्रभावकारी रुपमा सञ्चालन भइरहेको गुप्ताले जानकारी दिए । वीरगञ्ज नगर क्षेत्रमा जडित सिसिटिभि परियोजनाका लागि दक्ष जनशक्तिको व्यवस्थापन, औद्योगिक कोरिडोरको सुरक्षाका लागि औद्योगिक सुरक्षा बलको पुनस्थापना, केमिकलयुक्त वारुणयन्त्रको व्यवस्थापन लगायतमा कार्यमा प्रहरीको सहयोगको आवश्यक्ता पर्ने गुप्ताले बताए । 

त्यसैगरी नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्व अध्यक्ष अशोककुमार वैधले वीरगञ्ज–रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनलाई सहज बनाउन सुझाव दिए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी, श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतम, सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोज कुमार दास लगायत सङ्घका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । 

वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासनकि प्रमुख मनोज उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए । 
 

Back to top