×

वीरगञ्ज, १० साउन । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल पर्साले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । 

मञ्चका पर्सा अध्यक्ष अर्जुन नेपालको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत  प्रधानमन्त्रीको कार्यालय एवं भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरवारमा ज्ञापन पत्र बुझाएको हो ।  

मञ्चका पर्सा अध्यक्ष नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्र  मार्फत देउवा नेतृत्वको सरकारले  भुमि समस्या समाधान आयोग खारेज  गर्न लागेकोमा दुःख व्यक्त गरिएको छ । 


भुमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न पर्साको १४ वटै स्थानिय तहमा  सम्झौता भईसकेको र ठोरी  र पटेर्वा सुगौली गाँउपालिकाले लागत संकलन कार्य सकिएको र नाप नक्साको कार्य भईसकेको अवस्थामा जग्गा बितरण कार्यको सुनिश्चिता  नगरी आयोग बिघटन गर्नु उचित नहुने मञ्चको ठहर छ । 

हाल भईरहेको कामलाई असर पार्ने गरी  कुनै पनि निर्णय नलिन ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आयोग बिघटन नभएको जानकारी गराउदै ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताए । सो अवसरमा मञ्चका सचिव संजय पहरी, प्रदेश कोषाध्यक्ष सिता लामा, जिल्ला सदस्य ईन्द्रदेवी माझी, हरी महतो धांगड, रामायण चौधरी, गणेश माझी लगायतको उपस्थिती रहेको थियो ।
 

Back to top