×

१० सावन । ‘अश्लिल फिल्म’ निर्माण तथा प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्राको बारेमा प्रहरीले गरेको अनुसन्धानमा विभिन्न तथ्यहरु सार्वजनिक भएको छ ।

प्रहरीले राज कुन्द्राको अफिसमा छापा मारेर प्रमाणहरु जम्मा गर्ने प्रयास जारी राखेको छ । यसैक्रममा प्रहरीले शनिबार लुकाएर राखिएको लकर फेला पारेको छ । उक्त लकरबाट प्रहरीले विभिन्न कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ । 

शुक्रबार मजिस्ट्रेट कोर्टले राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राख्न आदेश दिएको छ ।

मुम्बई प्रहरीको क्राइम ब्रान्चले शनिबार फेरि कुन्द्राको अन्धेरी वेस्टस्थित भियान कम्पनीको अफिसमा छापा मारेको थियो । यसैक्रममा प्रहरीले लुकाएर राखेको लकर फेला पारेको हो । लकरमा व्यवसाय, क्रिप्टोकरेन्सीका विभिन्न कागजात फेला परेका छन् । प्रहरीले उक्त कागजातहरुको अनुसन्धान गरिरहेको छ ।

राज कुन्द्राकी श्रीमती अर्थात बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग सोधपुछ गरेर क्राइम ब्रान्चले आर्थिक हिनामिनाको पक्षलाई पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले कुन्द्राले पोर्न फिल्ममार्फत अकुत सम्पत्ति आर्जन गरेका हो वा होइनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । 

गत जुलाई १९ मा राज कुन्द्रा पक्राउ परेका थिए । यसअघि पनि उनको विरुद्ध भारतीय दण्ड संहिताका सम्बन्धी धाराहरु र सूचना प्रौधोगिकी अधिनियमको मामिलामा उजूरीदर्ता भएको थियो । 

प्रहरीले उनको साथबाट मोबाइल फोन बरामद गरेको थियो भने उनीसँग जोडिएका गतिविधि तथा सामाग्रीहरुको अनुसन्धान गरिरहेको छ । 

Back to top