×

१० सावन । अस्ट्रेलिया र वेस्टइन्डिजबीच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा वेस्टइन्डिजले जित निकालेको छ। जितसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। अन्तिम सिरिज मंगलबार हुने छ।

आइतबार बृगटाउनमा भएको खेलमा वेस्टइन्डिजको जितमा निकोलस पुरन र ज्यसन होल्डरको प्रदर्शन उत्कृष्ट रह्यो। टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले १८७ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले ७२ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

अस्ट्रेलियाले खराव सुरुवातका बाबजुत पछिल्लो क्रम समालिंदा मध्यम लक्ष्य तयार गर्न सकेको थियो। उसका लागि १० औ नम्बरमा ब्याटिङका लागि आएका वेव अगरले सर्वाधिक ४१ रन बनाएका थिए। ३६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै म्याथ्यु वेड र अडाम जम्पाले समान ३६ रन बनाए। ४५ रन बनाउँदा ६ विकेट गुमाएको अस्ट्रेलिया त्यसपछि सम्हालिएको थियो। उसका मिचेल स्टर्क र म्याथ्यु वेडले साझेदारी गर्दा अस्ट्रेलियाले ४७.१ ओभर सम्म खेललाई लम्ब्याउन सफल भयो। वेस्टइन्डिजका लागि अलजारी जोसेफ र अकेल होसिनले समान ३-३ विकेट लिएका थिए।

१८७ रनको लक्ष्य पछ्याएको  वेस्टइन्डिजका ३ खेलाडी चल्दा जित सम्भव भयो। ओपनर साहि होपले ३८ रन बनाउँदा निकोलस पुरानले ५९ रनको अविजित अर्धशतकीय इनिङ खेले। ७५ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै जसोन होल्डरले पनि ५२ रनको योगदान दिए। उनले आफ्नो इनिङमा ५ चौका र १ छक्का प्रहार गरे। यसअघि अस्ट्रेलियाले पहिलो खेलमा वेस्टइन्डिजमाथि १३३ रनको जित निकालेको थियो।

 

Back to top