×

१० सावन । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढी पहिरोका कारण १ लाख ३५ हजार मानिस घरबारविहीन भएका छन्। 

महाराष्ट्रको राहत तथा पुनस्र्थापना विभागले गएराति साढे ९ बजेसम्म १ लाख ३५ हजार मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको छ। महाराष्ट्रको सांगली र रायगढ जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्। सांगली जिल्लाका अधिकांश क्षेत्र पूर्ण रुपमा डुबानमा परेका छन्। 

सबैजसो वस्ती र सडक डुबानमा परेको र जल स्तर अझै बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरुले जनाएका छन्। डुबान भएको क्षेत्रमा हेलिकोप्टरसहित उद्धारकर्मीहरु परिचालन गरिएको छ। 

बेपत्ता भएकाहरुको हिजो दिनभर जसो खोजी गरिएको र रातिमा खोजी कार्य रोकिएको अधिकारीहरुले जनाएका छन्। उद्धार र राहतका लागि अन्य राज्यबाट समेत टोलीहरू महाराष्ट्र पठाइएको छ। 

महाराष्ट्रमा हरेक वर्ष डुबान र बाढी पहिरोका घटना भए पनि यति ठूलो वर्षा वर्षौंपछि भएको अधिकारीहरुले जनाएका छन्।

Back to top