×

वीरगञ्ज, ७ सावन । सामाजिक सञ्जाल फेसबुकको न्युज फिड स्क्रल गर्दै जाँदा एउटा पोस्टले ध्यान खिँच्यो । पोस्टमा लेखिएको थियो, ‘वल्र्ड लिङ्क मुर्दावाद’ । 

यस्तै पोस्ट केही दिनअघि पनि देखेको थिएँ । जहाँ लेखिएको थियो, ‘वल्र्डलिङ्कले लाइन काट्दा हैरान भए ।’ यस्तै पोस्टहरु प्रायः देखिन थालेका छन् अचेल सामाजिक सञ्जालतिर । पोस्टका अलावा पनि कतै चिया पसल, चौक, गल्ली आदिमा साथीभाईसँगको अनौपचारीक संंवादमा पनि इन्टरनेटसम्बन्धी गफ नभएको सायदै हुन्छ होला । ‘सुन न, त कुन नेट प्रयोग गर्छस् ?, नेटले लास्टै तनाव दियो यार, नेट नचलेर डाटा प्याक लिँदा लिँदा ब्यालेन्स नै सक्कियो, दिदी नेट स्लो छ, भिडियो कल हुँदैन । म मोवाइल नम्बरमा कल गर्छु हस् ।’ प्राय हरेक घरका अनि हरेक व्यक्तिका गुनासाहरु यस्तै यस्छै छन् । अँझ कार्यालय सञ्चालन गरेर बसेकाहरुको दुःखेसो त बाँकी नै छ । 

यद्यपी योे विज्ञान र प्रविधिको युग हो । बरु मानिसलाई खाजा चाहिँदैन होला तर इन्टरनेट अपरिहार्य भइसक्यो । ग्रामिण क्षेत्रका केही भने शहरी भेगका प्रायः सबैको घरमा अहिले इन्टरनेट जडान गरिएको छ । 

वीरगञ्जको कुरा गर्ने हो भने धेरैले प्रयोग गर्ने र यहाँ मध्येको सबैभन्दा राम्रो इन्टरनेट कम्पनी वल्र्ड लिंक । तर त्यसको विकल्प नहुँदा उपभोक्ताहरु त्यही प्रयोग गर्न बाध्य छन् । वल्र्डलिंकसँगै क्लासिक टेक, भायनेट, सुबिसु, नेपाल टेलिकम लगायतका सेवाप्रदायक कम्पनीबाट यहाँका इन्टरनेट प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् । तर सेवा सेवामा मात्रै सिमित छ । कुनै पनि कम्पनीको सेवाबाट सेवाग्राही सन्तुष्ट भने छैनन् । सबैलाई बाध्यताले प्रयोग गर्नुपर्ने अवस्था छ ।

क्लासिक टेकको नेट प्रयोग गर्ने एक जना सञ्चारकर्मीकै घरमा समस्या आयो । उक्त समस्याको समाधानका लागि २४ घण्टा लाग्यो । ग्राहक सेवा केन्द्रमा खबर गरेको २४ घण्टापछि मात्रै समस्या समाधान गर्दा आफ्नो दैनिकी नै प्रभावित हुनुका साथै डाटा लिएर काम गर्नुपर्ने बाध्यता आएको उनी बताउँछन् । शुरुमा प्रयोग गर्दाको इन्टरनेटको गतीको तुलनामा अहिले भरपर्दाे र विश्वसनीय नभएको उनले बताए । वल्र्डलिंक प्रयोग गर्दा समस्या देखिएपछि क्लासिक टेक प्रयोग गर्ने अर्का एकजना पनि अहिले पश्चातापमा छन् । यो भन्दा बरु वल्र्डलिंक नै राम्रो थियो भनेर ।

शुरुमा जतिवटा डिभाईसमा चलाएपनि इन्टरनेटको गति स्लो नहुने बताएको कम्पनीले अहिले तपाईको डिभाईस धेरै भयो भनेर ग्राहकलाई नै दोष दिइरहेको छ । फेयर युसेज पोलिसी (एफयुपि) को बारेमा नेट जडान गर्ने बेलामा जानकारी किन नदिएको भन्ने उनको प्रश्न छ । 

धेरै ब्याडविथ खपत गर्ने प्रयोगकर्तामाथि एफयूपीको सीमाले लगाम लगाउँछ र उनीहरुले बढी खपत गर्ने ब्याण्डविथ अन्य प्रयोगकर्तालाई स्तरीय सेवा दिन तथा नयाँ प्रयोगकर्ता थप गर्न उपयोग हुन्छ । नेपाली इन्टरनेट बजारमा एफयूपी नियमनमा भने छैन । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि कुनै मापदण्ड तय नगरेका कारण सेवाप्रदायकपिच्छे आ–आफ्नै एफयूपी छ ।

एकजना विद्यार्थीको घरमा अनलाईन कक्षाकै लागि वल्र्डलिंकको इन्टरनेट जडान गरे । बिचमा १/२ दिन सामान्य समस्या देखिएको ति विद्यार्थीले नाम नबताउने शर्तमा भनिन् । घरमा अभिभावक नहुँदा नेटको पैँसा समयमै तिर्न सकिनन् । नेट त चलेको थिएन । तर २ दिनभित्र पैँसा तिर्छु भन्दा पनि राउटर नै लिएर आएको उनको दुखेसो छ ।

वीरगञ्ज बजार क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने लगभग १ सयभन्दा बढीसँग प्रतिक्रिया लिँदा कोही पनि शतप्रतिशत सन्तुष्ट भेटिएनन् । सबै इन्टरनेटले ग्राहकलाई आकर्षित गर्न भने आकर्षक नाराहरु प्रयोग गरेको देखियो । तर ति नारा सुन्नमा मात्रै आकर्षक लागेको प्रयोगकर्ताहरु बताउँछन् । तर यता इन्टरनेट प्रादयक कम्पनीहरु भने प्रभावकारी सेवा प्रवाह गरीरहेको दावी गर्छन् । 

पर्साबासी सस्तो, विश्वसनीय, अनि सर्वसुलभ तथा समयमै मर्मत सम्भार गर्ने खालको ईन्टरनेटको प्रतिक्षामा छन् । 

Back to top