×

वीरगञ्ज, ७ साउन । सामाजिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामो समयसम्म सानो पाइलाको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका झाले सामाजिक सञ्जालमा बुधबार एउटा भिडियो सार्वजनिक गर्दै आफु नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् । 

फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेटको भिडिओमार्फत झाले अबको आफ्नो यात्रा नेपाली कांग्रेसमा आबद्ध भएर गर्ने जनाएका हुन् । 

वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगञ्जलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेका छन् । झा सानो पाइलाको संस्थापकसमेत हुन् । 

वीरगञ्ज महानगरलाई सम्बोधन गर्दै झाले भिडिओमार्फत भनेका छन्, ‘हामीबीचको विश्वासलाई उपलब्धिपूर्ण उँचाइमा पुर्‍याउन जननायक वीपी कोइराला स्मृति दिवसको विशेष दिनमा नेपाली कांग्रेस मार्फत नयाँ यात्रा थालनी गरेको छु ।’ यो भिडिओ हेर्दा झा वीरगञ्जलाई नै आधार बनाएर राजनीतिमा अघि बढ्न चाहेको बुझिन्छ ।

भिडिओमा झाले वीरगञ्जको सौन्दर्य, सम्भावना, समस्या र समाधान तथा समुदाय सहभागितालाई खास जोड दिएका छन् । शारांसमा, वीरगञ्जवासीसँगै सामूहिक पाइला चाल्ने र भोजपुरीया नगरी वीरगञ्जलाई खुसहाल सहर बनाउने झाको अन्तरनिहित चाहना भिडिओमा व्यक्त गरिएको छ ।

१५ वर्ष लामो समाजसेवाको यात्रामा झाले सञ्चारकर्मलाई पनि प्रमुख माध्यम बनाउँदै आएका छन् । अलजजीरा, सीजीटीएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुभव बटुलेका झाले काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरूमा समसामयिक विषयहरूमा स्तम्भ लेख्दै आएका छन् ।

Back to top