×

माननीय ज्यू तपाईंलाई थाहा छैन होला, नेपालको कम्युनिस्ट आन्दोनका अनेकौँ आरोह र अवरोह । पिस्कर, छिन्ताङ, सुखानी, माइखोला लगायतका धेरै स्थानमा बगेका कम्युनिस्टका रगत । तपाईंले त न परिवर्तनका नाममा एक दिन सडकमा निस्कन पर्यो न कुनै कस्टडी र कारागारमा दिन बिताउन पर्यो । हामीजस्ता लाखौँको मन भतभती पोल्छ तपाईंको कोटमा टाँसिएको लोगो र तपाईंले पाएका ती असाधारण अवसर देखेर । अझ नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउने ती नेतालाई गरिएको कर्कट गालीले । व्यावहारिक रूपमा एक हप्ताका लागि मात्रै भए पनि साँच्चीकै कम्युनिस्ट बनेर देखाउनुस् त

‘डार्लिङ मलाई त कमरेड र लालसलाम भन्न अफ्ठेरो पो लाग्छ, कसरी भन्ने होला’ राप्रपाको केन्द्रीय सदस्य त्यागेर एमाले प्रवेश गरेको दिन गायिका कोमल ओलीने भनिन् । चार वर्ष भयो तपाईं एमाले भएको अब त कमरेड र लालसलाम भन्न सिक्नुभयो होला ! उनले गृह जिल्ला दाङ गएर एमाले उपाध्यक्ष वामदेव गौतमको हातबाट अबिर लगाएर एमाले प्रवेश गरेकै दिन मैले फोन गरेर भनेँ, कमरेड लालसलाम । उनले हाँस्दै दिएको जवाफ हो माथिको । व्यक्तिगत रूपमा म उनले गाउने गीत ‘मलमल किरी जुनकीरी’ बाट बाल्यकालमा प्रभावित थिए । उनको बोली अनुहार मन पथ्र्यो । मुसुक्क हाँसेर बोल्ने अनुहार भने आज पनि मनपर्छ ।

हामीले एमाले भएर जीवनका महत्वपूर्ण समय बितायौँ । हामीभन्दा कठिन अवस्था भोग्ने हजारौँ छन् । अझ धैरेले यही आन्दोलन र परिवर्तनका नाममा ज्यानै गुमाए । पार्टीमा लागेवापत यही चाहिन्छ भनेर कहिल्यै अड्डी कसेनौँ । तर, चार वर्ष अघिसम्म अपदस्त राजाका गुण गाएर पूर्व पञ्चको पार्टीमा सक्रिय भएकी कोमल ओली अहिले एकाएक एमालेको हिरा भएकी छन् । उनी सिंगो पार्टी पंक्तिका नजरमा होइन, केहीका नजरमा हिरा भएकी हुन् । उनले एमालेमा कुनै लगानी गरेको कारण होइन्, ओली थरकी भएकी र नेताको चाकडी गरेका कारण हिरा भएकी हुन् । जीवनै एमालेमा बिताएका र हरेक आन्दोलनमा सक्रिय हजारौँ कार्यकर्ताले कुनै अवसर नपाउँदा पनि एमालेमै अडिक छन् । तर, आन्दोलनका नाममा सिन्को नभाँचेकी गायिका ओलीले एमाले प्रवेश गर्दागर्दै राष्ट्रिय सभा सदस्य पाइन् । उनलाई राष्ट्रिय सभा सदस्य बनाएकोमा एमालेकै धेरै महिला नेतृहरूमा असन्तुष्टि आज पनि छ ।

चार वर्ष अगाडिसम्म गाई र कमल थापाको प्रशंसा गरिरहेकी उनी अहिले माधवकुमार नेपाल, झलनाथ खनाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाल समूहलाई बाँदर भनेर नैतिकता पढाउने भएकी छन् । उनलाई लागेको होला राष्ट्रिय सभा र दाङको भालुभाङ चौर उस्तै हो भन्ने ! हुन त विचार सिद्धान्तविहीन भएर पनि कम्युनिस्ट पार्टीको नाममा नसोचेको अवसर हात पारेपछि उनले अरूलाई पनि आफूजस्तै देख्नु ठीक हो । तर, त्यो उनको भ्रमले कहिलेसम्म काम गर्छ त्यो भने भन्न सकिने अवस्था छैन ।

उनी एमाले भएको केही दिनपछि सौर्य दैनिकको कार्यालय हाडीँगाउमा मैले सोधेको थिएँ, ‘किन एमाले प्रवेश गर्नुभयो ? अब के गर्नुहुन्छ ?’ उनले भनिन्, म जत्तिको पढेलेखेको र बौद्धिक मान्छे एमालेमा कमै छन्, म जबज कार्यान्वयन गर्न लागिपर्छु,’ जबज भनेको के हो पढ्नुभएको छ ?’ अकमकाउँदै टाउको मुसारेको मैले कहाँ भूलेको छु र ! हो तपाईंले जस्तै जबज पढाउने बेला माधवकुमार नेपाल झलनाथ खनाल, डाक्टर बेदुराम भुषाल, घनश्याम भुसालजस्ता एमालेका वैचारिक नेताले पनि अकमकाउँदै टाउको मुसारेको भए हामी आज तपाईंजस्तै विचार सिद्धान्तविहीन हुने थियौँ होला । र कविताको भाषामा नेताको हुर्मत लिने प्रयास गर्ने थियौँ होला ।

माननीय ज्यू तपाईंलाई थाहा छैन होला, नेपालको कम्युनिस्ट आन्दोनका अनेकौँ आरोह र अवरोह । पिस्कर, छिन्ताङ, सुखानी, माइखोला लगायतका धेरै स्थानमा बगेका कम्युनिस्टका रगत । तपाईंले त न परिवर्तनका नाममा एक दिन सडकमा निस्कन पर्यो न कुनै कस्टडी र कारागारमा दिन बिताउन पर्यो । हामीजस्ता लाखौँको मन भतभती पोल्छ तपाईंको कोटमा टाँसिएका लोगो र तपाईंले पाएका ती असाधारण अवसर देखेर । अझ नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउने ती नेतालाई गरिएको कर्कट गालीले । व्यावहारिक रूपमा एक हप्ताका लागि मात्रै भए पनि साँच्चीकै कम्युनिस्ट बनेर देखाउनुस् त ।

हुन पनि नेपालको कम्युनिस्ट आन्दोलन कठिन ढंगले अघि बढिरहेको बेला तपाईं राजाका भ्रमणहरूमा गीत गाएर पुरस्कार थाप्दै हुनहुन्थ्यो । त्यस बापत पनि धेरै अवसर पाउनुभयो । यही आन्दोलनमा होमिएका महिला नेतृहरू आफ्नै श्रीमानसँग पनि अपरिचितझैँ गरी जनताका झुपडीमा गएर जनता जगाउँदै थिए । तपाईंले दरबारको निगाहमा छात्रवृद्धि पाएर उच्च शिक्षा लिँदै गर्दा हाम्रा महिला कमरेडहरू बुर्जुवा शिक्षा बहिष्कार गरेर जनताका झुपडीमा संगठन बनाउँदै वैचारिक प्रशिक्षण दिँदै थिए ।

व्यावहारिक रूपमा एक हप्ताका लागि मात्रै भए पनि साच्चीकै कम्युनिस्ट बनेर देखाउनुस् त । हिजो बालुवाटार र आज बालकोट धाउनु नै कम्युनिस्ट हो भन्ने तपाईंको मानसिकताले संसद्को गरिमामा त्यो बाँदरको शीर्षकमा कविता फूरे होलान् । सायद तपाईंलाई थाहा नहोला यो व्यवस्था परिवर्तनका खातिर जेल बस्दा कठिन यातना भोगेका डाक्टर बेदुराम भुसाल पनि हुनुहुन्छ राष्ट्रिय सभामा । त्यसको अपमान गर्ने काम न गर्नुस् ।

तपाईंका लागि राष्ट्रिय सभामा राष्ट्रिय कविता महोत्सव लाग्यो होला ! नलागोस् पनि किन त्यस्ता ठाउँमा कविता भनेर दारबारबाट पुस्कार थाप्ने, लोकदोहोरी गाएबापत हिजोका राजाबाट तक्मा थाप्ने बानी परेको तपाईंका लागि राजनीति त्यो पनि कम्युनिस्टका फलामे साङ्लो अनुशासनको के पत्तो ? हुन त फलामे साङ्लो अनुशासन हिजोका नेताले पनि तोडीसके तपाईंलाई त के थाहा र पालना गर्न ।

मुलुकमा गणतन्त्र ल्याएर राजसंस्था फालिसक्दा तपाईं नै हो नी ‘श्री ५ विना यो मुलुक चल्दै–चल्दैन’ भनेर बिलौना गर्ने । तपाईंले मुलुक चलाउने उपयुक्त पात्र देखेको राजा फालेर गणतन्त्र ल्याउन ज्यानका बाजी मार्ने तीनै कमरेडलाई आज तपाईं निष्ठाको पाठ पढाउन खोज्दै हुनुहुन्छ ? हिजोजस्तो दरबारको भारदारी भाषामा लोक गीत गाएर पुरस्कार थापेको जस्तो होइन, संसद् । त्यो जनताको हितमा काम गर्ने थलो हो । यसलाई हेक्का राख्नुस् ।

हो, एमालेमा तपाईंजस्तो डिग्री हासिल गरेका महिला कमै छन् । तर, उनीहरूको जनताप्रतिको समर्पण, नेताप्रतिको सम्मान, विचार र सिद्धान्तप्रतिको अडान धेरै माथि छ । आफूभन्दा माथिका नेतालाई उनीहरूको भूमिका, जिम्मेवारी र आन्दोलनप्रति गरेका लगानीका आधारमा सम्मानका दृष्टिले व्यवहार गरिन्छ । पार्टीका धेरै महिला आज पनि सांस्कृतिक रूपमा इमानदार भएर प्रस्तुत हुन्छन् । महँगा लुगा र गहना मूल्यांकनको विषय बन्दैन । त्यसै पहिला आफूलाई त्यस ठाउँमा उभियार हेर्नुस् । जनताका घरमा नाबालक छोराछोरी छोडेर भोग प्यास नभनी अनेक दुःखले ल्याएको हो यो व्यवस्था । यसलाई रंगमञ्चको मनोरञ्जन ठान्ने कोशिस नगर्नुहोला ।

हुन त तपाईँ आफ्नै अनेक गीतले विवादमा पर्नुभयो । नेपाली समाजमा अपाच्य गीत गाउँदा अहिले तपाईं रहेको पार्टीका महिला संगठनले गरेको विरोध बिर्सनुभयो कि सम्झना छ ? अनि त्यतिबेला महिला संगठनको नेतृत्व गरेका कमरेडहरूले चाहिँ कोमल ओलीलाई सैद्धान्तिक, वैचारिक र सांस्कृतिक रूपमा पुरै कम्युनिस्ट देख्न थाल्नुभएको हो ? वा उनले गरेको चाकडीले उनलाई ती सबै कुरामा पोख्त देखेको हो ?

कम्युनिस्ट आन्दोलनमा लामो समय बिताउनुभएको विभिन्न क्षेत्रका कमरेडहरू खासगरी अनेमसंघका कमरेडहरू र प्रगतिशील कमरेडहरू आज कोमल ओलीले नैतिक उपदेश दिँदा कस्तो लाग्दो हो ? हिजो तपाईँको अद्भुत कलाबाट ‘श्री ५ महाराजाधिराज’ अल्लादित होइबक्सिनु भए जसरी आज तपार्इंको विचारबाट हाम्रा कमरेडहरू उद्वेलित हुनुभएको त होइन ? त्यसो हो भने ? छिन्ताङ, पिस्कर, माइखोला, सुखानीमा बगेका रगत र त्यहाँबाट बल्लबल्ल नाफाको जीवन पाएका कमरेडहरूले के भन्ने ? त्यसैले फेरी पनि भन्छु कमरेड कोमल ओली अब फेरी गाई छापको मोह छाड्ने र दरबारको पिरती त्याग्ने हो भने आफूलाई रूपान्तरण गर्नुस्  साभार : सुर्य अनलाईलबाट

Back to top