×

वीरगञ्ज, ४ साउन । प्रतिनीधि सभा सदस्य प्रदिप यादवले मन्त्री पद पाउनुपर्ने पर्सा जिल्लामा जोडदार माग उठेको छ । पर्सा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले मधेश आन्दोलनदेखि लिएर मधेशी समुदायका सवाल र आवाजहरुलाई संसदमा उठाउने योगदानको कदरस्वरुप उनी मन्त्री बन्नुपर्ने उनी आवद्ध पार्टीका प्रतिनीधि एवम् कार्यकर्ताहरु बताउँछन् । 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रवृतिको विगतदेखि नै विरोध गरेर वर्तमान सरकार स्थापनामा महत्वपुर्ण भूमिका निर्वाह गरेको हुँदा यादव मन्त्री बन्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानी बताउँछन् । जनता समाजवादी पार्टीका नेता समेत रहेका टेमानीले अब बन्ने सरकारले यादवजस्तै सक्रिय अनि जनताका भावना बुझ्ने व्यक्तिलाई अवसर दिनुपर्ने बताए । 

केही दिनअघि जसपा अध्यक्ष उपेन्द्र यादवले जसपालाई ७ मन्त्री र १ राज्यमन्त्री दिनुपर्ने माग राखेको खबर बाहिरीएसँगै पर्साबाट प्रदिप यादव मन्त्री बन्ने यहाँस्थित पार्टीका प्रतिनीधि एवम् अन्य नागरिक समाजका अगुवाहरुसहित नेता एवम् कार्यकर्तामा आशा जागेको छ । 

पर्सा जिल्लाबाट युवा नेतृत्व मन्त्रीको पदमा पुग्न सके आर्थीक एवम् औद्योगिक नगरीको क्षेत्रमा केही विकास र परिवर्तन हुने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताको अपेक्षा छ । अध्यक्ष गुप्ताका अनुसार विगतमा अरु मन्त्री हुँदा पनि हुन नसकिरहेका विकास निर्माणका कामहरुले तिव्रता पाउने र विशेष गरी आर्थीक नगरीलाई भनाईमा मात्रै सिमित नराखेर यहाँका जनताको आर्थीकस्तरमा पनि सुधार ल्याउन सक्ने नेता यादवको विकल्प अरु कोही हुन सक्दैन । 


यसैगरी जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले सांसद यादवका क्रियाकलापको सह्राना गर्दै पर्सा जिल्लामा पार्टीले सक्रिय युवा सांसद पाउनु गौरवको कुरा भएको बताए । पार्टीले पनि आश गरेको विश्वसनीय अनि क्षमतावान नेताले अवसर पाए भने पक्कै पनि केही गर्न सक्छन् भन्ने विश्वास गर्ने आधार थुप्रै रहेको अध्यक्ष यादवको भनाई छ । जिल्ला समितीमार्फत पर्साका सांसद यादवलाई मन्त्री बनाउन दबाव दिनका लागि डेलिगेसन नै लिएर जाने पनि उनले बताए । पार्टीले पनि सांसद यादवको कामको मूल्यांंकन गर्ने विश्वास पनि उनले व्यक्त गरे । 


जसपा निकट विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले पनि मन्त्री बनेर यादवले पार्टीका लागि गरेको योगदानको मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन् । समाजवादी विद्यार्थी संगठन ठाकुराम बहुमुख क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष शशिकान्त सर्राफ पनि सांसद यादवलाई मन्त्री बनेको हेर्न चाहन्छन् । 

वीरगञ्जसहित पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये अधिकांशमा जसपाकै जनप्रतिनीधि विजय हुनुदेखि लिएर मधेशका मुद्दाहरुलाई उठान गर्न अहम भुमिका खेलेका सांसदको कामको मूल्यांकन गर्ने बेला अब आएको सर्राफ बताउँछन् । 
 

Back to top