वीरगञ्ज, २ साउन । वीरगञ्जमै छायांकन गरिएको ‘बाँकी छैन पाउन’ बोलको गीत सार्वजनीक भएको छ । ‘हाइलाइट्स म्युजिक’ नामक युट्युब च्यालनबाट सर्जक ऋतु गुप्ताको ‘बाँकी छैन पाउन’ बोलको गीत सार्वजनीक भएको हो ।
गुप्ताद्वारा सृजित प्रेमिल शब्दहरुलाई मनोहर सुनमले सुमधुर संगीत भरेका छन् । गुप्ताका शब्द र सुनमको संगीतलाई गायक सञ्जय सुब्बा ‘तुम्रोक’ र गायिका रिता केसीले उत्तिकै मीठो स्वर भरेर न्याय गरेका छन् । रोहित शर्माले छायांकन तथा इडिटींग गरेको गीतको भिडियोलाई अर्विन्द श्रेष्ठले निर्देशन गरेका छन् ।
चेतन खतिवडाको कथावस्तु रहेको भिडियोमा बिरिज गिरी र मुन्ना महताले कोरियोग्राफी गरेका छन् । विशेषतः वीरगञ्जमा पनि भिडियो छायांकनका लागि आकर्षक र मनमोहक दृश्यसहितका स्थानहरु छन् भन्ने कुरा पनि यस गीतको भिडियोले प्रमाणित गरेको छ ।
वीरगञ्जस्थित घडिअर्वा पोखरी, भिस्वा डाँडा, आदर्शनगर भिस्वा होटेल लगायतका रमणीय स्थानहरु भिडियोमा देख्न सकिन्छ । एकजनालाई निस्वार्थ प्रेम गर्न सके अरु कोही पनि चाँहिदैन भन्ने भाव गीतले बोकेको सर्जक ऋतु गुप्ताको भनाई छ ।
गीतको भिडियोमा कृष्ण सोनी, शिखा कार्की, रोहित मिश्र, राजन चौधरी, सागर शर्मा, सज्जत देवान, बिना प्रजापती, विषया यादव, मनिषा, दिप्ती थापा र प्रतिक्षा थापाले अभिनय गरेका छन् ।