×

वीरगञ्ज, २७ असार । बीरगञ्जमा बिपी उद्यानको विषय विवादित बनेको छ । बिपि उद्यान बनाउनका लागि वि.स. २०६० सालमा वीरगञ्ज महानगरपालिकाले नेपाल यातायात संस्थानसँग १० करोडमा खरिद गरेको जग्गामा ढलान हुन थालेपछि उक्त विषय विवादित बनेको हो ।

तत्कालिन सरकारले यातायात संस्थानको स्वामित्वमा रहेको जग्गा तत्कालिन वीरगञ्ज उपमहानगरपालिकालाई बिपी उद्यान निर्माण गर्ने शर्तमा बिक्रि गरेको थियो । पार्क निर्माण गर्नुपर्ने जग्गामा सवारी पार्किंग निर्माणका लागि ढलान गर्नुले आफ्नो बुबा र नगरवासीको सपनामाथि घात हुने पूर्व नगरप्रमुख स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरीको भनाई छ ।

पत्रकारसमेत रहेका गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्कको निम्ति मेरो बुवाले ठूलो संघर्ष गरेर नगरपालिकालाइ प्राप्त भएको यो जमिनमा अब बगैँचा त परको कुरा यसको भुइँको सम्वन्धसमेत प्रकृतिसँग विच्छेद हुँदैछ ।’ नगरवासीको सपनालाई ध्वस्त बनाउँदै सिंगो शहरमाथी ज्यादती गर्नेगरी पार्कको जग्गालाइ कंक्रटीकरण गर्ने कार्य कदापी सह्य नहुने गिरीको भनाई छ । 

यद्यपी वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी भने बजारमा चर्चा भएजस्तो पार्कको जग्गालाई पार्किंगका लागि ढलान नभएको बताउँछन् । जम्मा १० बिघा जग्गा मध्ये ६ बिघा जग्गामा संरचनासहितको पार्क, २ बिघा जग्गामा सवारी पार्किंगसहितको खुला मञ्च र २ बिघामा सभा गृह निर्माण हुने मेयर सरावगीले बताए ।

सरावगीका अनुसार अहिले २ कट्ठा जग्गामा ढलान भइरहेको छ भने जम्मा १० बिघा जमिनमध्ये १० कट्ठामा मात्रै सवारी पार्किंग बनाइने छ । उनले हल्लाको भरमा जथाभावी बोल्ने र जनतालाई भ्रममा पार्ने गतिविधि नगर्न अपिल समेत गरका छन् ।  सरावगी भन्छन्, ‘यदि केही नबुझेको र समस्या छ भने आउनुहोस् कुरा गरौ, अनि स्पष्ट भएर मात्रै बोलौँ । तर हल्लाको भरमा नभएको कुरा गर्ने काम नगरौँ ।’

अहिले बाउण्डरी वाल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर विबेक नेपालले बताए । पहिलो चरणको काम अन्र्तगत गत असारमा यही आर्थीक वर्षभित्र सम्पन्न गर्नेगरी ३ करोड २० लाखमा सम्झौता भएको इन्जिनियर नेपालको भनाई छ । तर रेलवे स्कुलनजिकको नहर क्षेत्रमा व्यक्तिगत सम्पती भनेर अदालतमा मुद्धा दर्ता भएपछि त्याँहा बाउण्डरी वाल निर्माण गर्न नसकेको नेपालले बताए । 


यही विषयलाई लिएर अहिले वीरगञ्जमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । वीरगञ्जका बिश्लेषकहरु दुई मतमा विभाजन भएका छन् । विपि उद्यानको वास्तविक संरचना यात्रा डेलीलाई प्राप्त नक्सामा प्रस्तुत गरिएको छ, जसबाट पाठकले सहजै बुझ्न सक्छन् । 

Back to top