×

वीरगञ्ज २२ असार । भारतले नेपाल लगायत ६ वटा मुलुकहरुबाट तामाजन्य उत्पादनको आयातमा एन्टी डम्पिङ शुल्क नलगाउने भएको छ । 


भारत सरकारले विद्युतीय उद्योगमा प्रयोग हुने केही तामा उत्पादनको आयातमा एन्टी डम्पिङ डिउटी नलगाउने घोषणा गरेको छ । गत अप्रिलमा वाणिज्य मन्त्रालयको डायरेक्टर जनरल ट्रेड रेमेडीज (डीजीटीआर) ले “तांमा र तामा मिश्रित पत्ति” मा चीन, कोरिया, मलेसिया, नेपाल, श्रीलंका र थाइल्यान्डबाट आयातित वस्तुहरु न्यून मूल्यमा आयात भएको भन्दै आयात निरुत्साहित गर्नको लागी यस्तो शुल्क लगाउने सिफारिस गरेको थियो । 


“राजस्व विभागको जुलाई २ तारिख कार्यालयको पत्र अनुसार डिजीटीआरले यस्तो शुल्क प्रति टन ४२ अमेरिकी डलरदेखि १,०७७ अमेरिकी डलरसम्म सिफारिस गरिएको थियो । अर्थात् नेपाली मुद्रा अनुसार प्रति टन टामाको पाता र रोल आयातमा न्यूनत्तम रु.५ हजार ४० देखि अधिकत्तम रु.१ लाख २९ हजार २ सय ५० सम्म सिफारिस गरिएको थियो । 


यस्तो सिफारिशहरु भारतीय वित्त मन्त्रालयले स्वीकृत गरेपछि मात्र लागू हुने प्रावधान रहेको छ । तामाको पाता र तारहरु बिजुलीको तार, विद्युतीय उपकरण, सवारी साधनको विद्युतीय उपकरण तथा रेडिएटरहरुमा प्रयोग हुन्छ ।


के हो एण्टी डम्पिङ डिउटी ?


कुनै पनि आयातकर्ता मुलुकले आफ्नो मुलुकमा आयात भइरहेको सामानलाई निर्यातकर्ताले वास्तविक मूल्यभन्दा सस्तोमा निर्यात गरेको आशंका लागेको अवस्थामा आयातलाई निरुत्साहित बनाउन अतिरिक्त कर लगाउन सक्छ । यस्तो अतिरिक्त करलाई एण्टी डम्पिङ शुल्क भनिन्छ । 


विशेषगरी उच्च उत्पादन क्षमता भएका चीनलगायतका मुलुकले आफ्नो देशमा कुनै वस्तुको अत्यधिक उत्पादन भएको छ भने विदेशी मुद्राको आर्जन गर्नको लागी स्वदेशी उद्योगलाई विभिन्न प्रोत्साहन दिएर सस्तो मूल्यमा विदेश निकासी गर्न सहयोग गर्छ । यसो गर्दा निर्याकर्ता मुलुकलाई फाइदा भएपनि आयातकर्ता मुलुकुको स्वदेशी उत्पादकहरु भने मूल्य प्रतिस्पर्धा गर्न नसक्दा मारमा पर्छन् ।
 

Back to top