वीरगञ्ज, २१ असार । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनीक गर्न हत्तार गरेको जनता समाजवादी पार्टी (जसपा) प्रतिक्रिया दिएको छ ।
आयोगले सोमबार मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि जसपाले एउटा विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनसम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको बेला कार्यतालिका सार्वजनिक गर्नलाई हत्तारको संज्ञा दिएको हो ।
पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै बहस अन्तिम अवस्थामा पुगेको बेलामा कार्यतालिका सार्वजनिक गर्नु हतार भएको बताएका छन् । आयोगले आज निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको थियो ।
'प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, लोकतन्त्र र गणतन्त्र विरुद्ध गई असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरे । ओलीको यस असंवैधानिक कदम विरुद्ध १४६ जना सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्,' अधिकारीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, 'सो सम्बन्धमा बहस अन्तिम अवस्थामा रहेको बेलामा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यतालिका ल्याएर हतार गरेको छ । जनता समाजवादी पार्टी, नेपाल सर्वोच्च अदालतले दिने फैसलालाई सम्मान गर्ने कुरामा स्पष्ट र दृढ छ । तसर्थः अदालतको निर्णय नआएको अवस्थासम्म निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गर्न नहुने हो ।'