×

फाइल तस्विर ।

वीरगञ्ज, २१ असार । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहमाथि ठगि गरेको आरोप लागेको छ । 

पूर्वमन्त्री साहमाथि एक महिलाले २० लाख रुपैयाँ लिएर फिर्ता नगरेको आरोप लगाएकी हुन् । साहविरुद्ध उजुरी दर्ताग गराउन महिला निवेदन लिएर प्रहरीमै पुगेकी छन् ।

काठमाडौं बाँसबारीकी दीपा कुँवर महानगरीय प्रहरी वृत्त बानेश्वरमा मन्त्री साहविरुद्ध उनि निवेदन लिएर पुगेकी छन् । महिलाका अनुसार साहले आफूलाई क्यानेडा पठाई दिन्छु भन्दै पैसा लिएका थिए ।

निवेदनमा उनले नेता साहले २० लाख रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख गरेकी छिन् । ३० लाख रुपैयाँमध्ये साहले १० लाख फिर्ता गरेको र बाकी पैसा नतिरेको कुँवरको आरोप छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालका अनुसार महिला साहको बानेश्वरस्थित घरमा आइतबार बिहान कुँवर केही महिला अधिकारकर्मीहरू लिएरै पुगेकी थिइन् ।

‘घरमा घेरा हालेपछि प्रहरीले घटना के हो अनुसन्धान थालेको छ,’ पालले भने। प्रहरीकहाँ ती महिलाले अहिले ठाडो निवेदन दिएकी छिन् । निवेदन अनुसन्धानकै क्रममा रहेकाले यसलाई दर्ता भने प्रहरीले गरिनसकेको वृत्त स्रोतले बतायो ।

‘निवेदनको सत्यता के-कति हो, आउनेबित्तिकै हामी दर्ता गर्दैछौं, निवेदनमा उल्लेख भएका केही कुरा पुष्टि गर्न बाँकी छ,’ वृत्त स्रोतले भन्यो ।

कुँवरले क्यानडा पठाइदिने भनेर साहले आफूसँग पैसा लिएको आरोप लगाएकी छिन् ।

यता साहले भने आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । काठमाडौँका केही सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फसाउन खोजेको बताएका छन् ।

आफूलाई योजनावद्ध ढंगले फसाउन ‘प्रचण्ड’ योजनाअन्तर्गत यस्तो झुठो आरोप लगाइएको दावी गरेका छन् ।

Back to top