वीरगञ्ज, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन पाइलाको विरुद्धमा पर्सा जिल्लाका ५ राजनीतिक दल मोर्चाबन्दी भएका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले शनिवार एक संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिगमनको विरुद्धमा एकबद्ध भएको जानकारी गराएका छन् ।
संविधान, विधिको शासन, समाजवाद उन्मुख समृद्धिको मार्गचित्रलाई विलुप्त गरी पुनः अध्याँरो सुरुङभित्र देशलाई धकेल्ने वर्तमान संघीय सरकार र राष्ट्रपति कार्यालयको भूमिकाविरुद्ध ५ राजनैतिक दल मोर्चावद्ध भएको विज्ञप्तीमा उल्लेख छ ।
विगतमा गरिएको एकल प्रयासहरु निश्प्रभावी भएका कारण एकजुट भई अगाडी बढ्न लागिएको नेकपा एमाले माधव नेपाल समूहका अध्यक्ष बालगोपाल थापाले जानकारी दिए । पर्सामा असार १७ गते ५ राजनीतिक दलका नेताहरुको संयुक्त बैठक बसेको थियो ।
उनीहरुले तत्कालका लागि कोरोना महामारी, प्राकृतिक प्रकोप, अतिवृष्टि, चट्याङ, बाढी, डुबान र प्रहरी हस्तक्षेपविरुद्ध एक्येबद्ध भई अघि बढ्ने निर्णय गरेका छन् ।पाँच राजनीतिक दलले महामारीप्रति राज्य जति गम्भीर हुनुपर्ने, पूर्वतयारी गर्नुपर्ने, रोकथाम तथा उपचारका उपायहरु गर्नुपर्ने जति अवलम्बन नगरेको ठहर गरेको छ ।
राहतका नाममा भ्रष्टाचार, अस्पतालमा आवश्यक उपकरण र औषधीजन्य वस्तुको खरिद एवं व्यवस्थापनमा देखादेखी भ्रष्टाचार बढेको आरोप उनीहरुले लगाएका छन् । संयुक्त बक्तव्यमा राहत स्वरुप संकलन भएको सहयोगमाथि पनि प्रश्न उठाइएको छ । पाँच दलले बाढी, पहिरो र चट्याङबाट समस्यामा परेकाहरुको उद्धार र राहत वितरणमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ का सदस्य छोटेलाल प्रसाद यादव, नेकपा एमाले माधव समूह पर्साका अध्यक्ष बालगोपाल थापा, नेपाली कांग्रेस पर्साका उपसभापती प्रकाश कुमार उपाध्याय र राष्ट्रिय जनमोर्चा पर्साका अच्छेलाल साहद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत प्रतिगमनको विरुद्धमा सशक्त रुपमा एकबद्ध भई लाग्नुपर्नेमा जोड दिइएको छ ।
