×

वीरगञ्ज, ७ असार ।  अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारलाई राहत लिएर गएको युवा संघ नेपाल जिल्ला कमिटी पर्सा र बाराको टोलीलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विदाई गरेका छन् । 

युवा संघ नेपाल पर्सा र बारामा आवद्ध युवाहरुले बाढीबाट प्रभावित भएकाहरुको लागि राहत एवम् स्वास्थ्य सामाग्री लिएर गएको टोलीलाई पूर्व प्रधानमन्त्री नेपालसहित संघका केन्द्रिय पदाधिकारीहरुले काठमाण्डौबाट विदाई गरेका हुन् ।

विदाई गर्दै पूर्व प्रधानमन्त्री नेपालले युवाहरुको पहल अत्यन्तै सकारात्मक रहेको बताउँदै यस्तै युवाहरुकै कारण पार्टी र संगठनको अस्तित्व जोगिएको र सिर ठाडो भएको बताए । सिन्धुपाल्चोकमा बाढी आउँदा मधेशका युवाहरुको मन रुनु र राहत लिएर आउनुले नै मानवतालाई झल्काएको नेपालले बताए ।

युवा संघ पर्साका अध्यक्ष भूपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, उपाध्यक्ष राम कुमार भट्टराई, कलैया उपमहानगरपालिकाका अध्यक्ष हरीओम साह, केन्द्रिय सदस्य गणेश रिजाल, अनिल भट्टराई, युवा संघका केन्द्रिय सचिब अरुण यादव, केन्द्रिय सचीवालय सदस्य अनिल पटेल, सञ्जु चौधरी, आलमगिर अन्सारी, रबी गुप्ता लगायतको टोली राहत लिएर सिन्धुपाल्चोक गएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची लगायतका क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिलाई सहानुभुती दिन मधेशका युवाहरु सिन्धुपाल्चोक गएका हुन् । उनीहरुले २ सय बोरा चामल, चाउचाउ, बिस्कुट, औषधी लगायतका सामाग्री लिएको  संघका रवी गुप्ताले जानकारी दिए ।

Back to top