×

वीरगञ्ज, ५ असार । 

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ 
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र 
माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ ।।


दिनेश अधिकारीको शब्द, आलोक श्रीको संगीत र स्वरुपराज आचार्यको आवाजमा सजिएको यो गीतले भनेजस्तै भएको छ, अहिलेको परिवेशमा । सिन्धुपाल्चोकको कहालिलाग्दो कथाले यतिबेला देशमात्रै हैन विदेशलाई पनि रुवाएको छ ।

रोएकाहरुको आँसु पुछ्ने जमात पनि सिन्धुपाल्चोकमा बढ्दैछ । बिनाशकारी बाढीले लिएको ज्यान र धन फिर्ता गर्न नसकेपनि जिवितहरुको आशा जगाउन यतिबेला समाजसेवी, विभिन्न संघ संस्था, स्थानीय, प्रदेश देखि संघीय सरकारले पनि सहयोगको थालनी गरीरहेका छन् ।

युवा संघ पर्सा र बारामा आवद्ध युवाहरु पनि सिन्धुपाल्चोकका बाढी पिडितको घाउमा मलम लगाउन सिन्धुपाल्चोतर्फ प्रस्थान गरेका छन् । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण प्रभावित भएका परिवारको लागि २ सय बोरा चामल, चाउचाउ, बिस्कुट, औषधी लगायतका सामाग्री लिएर युवा संघ नेपाल पर्सा र बाराको टोली सिन्धुपाल्चो प्रस्थान गरेको संघका पर्सा इन्चार्ज अनिल पटेलले बताए ।

युवा संघ पर्साका अध्यक्ष भूपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, कलैया उपमहानगरपालिकाका अध्यक्ष ओम साह, युवा संघका केन्द्रिय सचिब अरुण यादव, केन्द्रिय सचीवालय सदस्य अनिल पटेल, सञ्जु चौधरी, आलमगिर अन्सारी, रबी गुप्ता लगायत संघका पदाधिकारी र समाजसेवीको सहयोगमा संकलित राहत सामाग्री लिएर संघ शनिवार साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।

मानविय नाताले सिन्धुपाल्चोकका नागरिकलाई परेको पिडा देख्न नसकेर मधेशका युवाहरुको मुटु दुखेर थोरै भएपनि सहयोग गर्न त्याहाँ गएको संघका रबी गुप्ताले बताए । 

Back to top