×

वीरगञ्ज २ असार । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत पर्सा क्षेत्र नम्बर ३ मा विभिन्न विकास योजनाहरू परेका छन् ।

सो क्षेत्रबाट २०७४ सालको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता हरिनारायण रौनियारको पहलमा संघ र प्रदेश सरकारका योजनाहरू पारिएका हुन् ।

प्रतिनिधिसभा नभएको अवस्थामा समेत रौनियारको पहलबाट पर्सा क्षेत्रनम्बर २ मा सहरी विकास, सडक, कृषि, धार्मिक स्थलहरुको प्रवद्र्धनलगायतका योजना समावेश भएका छन् । शहरी विकास मन्त्रालयले पोखरियाको बनकटवादेखि पकाहमैनपुरसम्म १० किलोमीटर कालोपत्रे बाटोका लागि २५ करोड रुपैयाँ छुट्याएको छ ।

पोखरियामै एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सडक, ढललगायतका कामका लागि ४ करोड रुपैयाँ बिनियोजन भएको नेता रौनियारले जानकारी दिए । अगामी वर्ष टाउन प्लानिङका लागि विस्तृत प्राविधि अध्ययनका लागि बजेट परेको नेता रौनियारले बताए ।

हाटबजार र बसपार्कको विस्तृत योजना प्रतिवदेन तयार पार्न १० लाख रुपैया विनियोजन भएको छ । त्यसैगरी पोखरियामा सडक निर्माण र हाट बजारका लागि २ करोड रकम रातो किताबमा परेको सहरी विकास मन्त्रालयले बताएको छ ।

पोखरिया बजारको सिंचाइ गेटदेखि बनकटवा मठसम्मको ढलान र नाला निर्माणको योजना पनि शहरी विकासको बजेटमा परेको छ । आगामी आर्थिक वर्षमा पोखरियाकै रानीगञ्ज महादेवचोकदेखि स्मशानघाटसम्म सडक नाला निर्माण पनि गरिने भएको छ ।

शहरी विकास मन्त्रालयले बहुदरमाईको फूलकौलमा ढलान सडक तथा नाला निर्माणका लागि पनि ५० लाख रुपैयाँ रकम छुट्याएको छ । चालु वर्षमा पोखरियाको सतवरियाबाट विरन्चीवर्वासम्म संघ सरकारबाट प्रदेश सरकारमार्फत साढे १ किलोमीटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।

उर्जा मन्त्रालयबाट क्षेत्र नम्बर ३ का नगर तथा ग्रामीण क्षेत्रमा कृषि विद्युतीकरणका लागि ४ करोड बजेट परेको छ । यसबाट कृषि कार्यका लागिा विद्युत्मा सहुलियत उपलब्ध गराउने योजना सरकारको छ ।


युवा तथा खेलकुद मन्त्रालयबाट आगामी वर्षका लागि सखुवाप्रसौनीको सिद्धपुरमा फुटबल मैदान, सतवलमा कभर्ड हल र खेल मैदान, पटेर्वासुगौलीको निचुटा र पोखरियाको रानीगञ्जमा फुटबल मैदानको योजनासमेत पारिएको रौनियारले जानकारी दिए ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजनाअन्तर्गत पोखरियाको भेवराहमाई मन्दिर, भाठा, दुग्धेश्वर, पारसनाथलगायतका मन्दिरको सौन्दर्यीकरणका लागि बजेट परेको छ ।

त्यसैगरी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा समेत पोखरिया, सखुवाप्रसौनी, महुवन, गंगाघाटलगायतका पोखरी सौन्दर्यीकरणका लागि बजेट विनियोजन भएको छ । पोखरिया अस्पताललाई प्रदेश सरकारले प्रादेशिक अस्पतालमा राखेको छ ।    

 

Back to top