×

वीरगञ्ज, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका छन् । नागरिकतासम्बन्धि अध्यादेशलाई रोकिँदा देशमा अवस्था झन् भयावह बन्दै जाने उनको तर्क छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हुन् ।

नेपाल सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको विरूद्धमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर बिहिबार अन्तरीम आदेश दिएपछि जसपा रूष्ट बनेको छ । 

अध्यादेशलाई काराण देखाउँदै मधेसको माग पूरा भयो भनेर सरकारमा सहभागी भएको जसपाको महन्थ पक्ष सर्वोच्चको आदेशपछि अन्योलमा परेको छ । 

ठाकुरले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसद्मा अड्किएको उल्लेख गर्दै संसद्ले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए । नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले नवनियुक्त मन्त्रीलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

Back to top