×

वीरगञ्ज, २८ जेठ ।   गर्भपतन भनेको कुनै पनि महिलाको पाठेघरमा रहेको गर्भ तुहाउनु हो । बिश्वका कति देशमा यसलाई कानुनी रुपमा मान्यता दिइएको छ भने कति देशमा गैरकानुनी मानिन्छ । नेपालमा २०६० साल भन्दा अगाडी गैर कानुनी मानिने गर्भपतन २०६० साल चैत ५ गते सरकारी अस्पतालमा यस्तो सुविधा उपलब्ध भयो र मुलुकी ऐनमा राखी गर्भपतनलाई कानुनी मान्यता दिइयो ।

नेपालमा खास अवस्थामा गर्भपात गराउन पाइने कानुनी व्यवस्था भए पनि ५९ प्रतिशतलाई यसबारे थाहै छैन । खासगरी तराईमा जहाँ ८० प्रतिशत यसबाट अनविज्ञ छन् । 
सरकारले सूचीकृत गरेका संस्था, स्वास्थ्यकर्मी र औषधिबाहेक अन्य तरिकाबाट गरिएको गर्भपात असुरक्षित हो भन्नेबारे धेरैलाई जानकारी छैन । कानुनी अधिकार र सुरक्षित तरिकाबारे जानकारी नहुँदा विश्वमा २ करोड ५० लाख र नेपालमा वर्षेनी झन्डै २ लाख महिला र किशोरी ज्यानको जोखिम मोलेर गर्भपात गरिरहेका छन् । यसबाट प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु हुन्छ भने ५० लाख महिलामा दीर्घकालीन समस्या हुन्छ । 

गर्भवती महिलालाई निम्न मध्ये कुनै पनि अवस्थामा आफ्नो सहमति भए सुरक्षित गर्भपतन गराउन अधिकार छ । १२ हप्ता सम्मको गर्भ भएमा, २८ हप्ता सम्म, त्यस्ता महिलाको सहमति अनुसार लाइसेन्स प्राप्त डाक्टरको राय पछि गर्भवती महिलाको जीवनमा खतरा हुन सक्छ वा उनको शारीरिक वा मानसिक स्वास्थ्य बिग्रन सक्छ वा यदि गर्भपतन गरिएको छैन भने अशक्त शिशुको जन्म हुन सक्छ, बलात्कार वा अनाचारको कारण, एचआईभिबाट पीडित महिला, गर्भको भ्रुणमा यस्तो खराबी छ कि यो जन्म पछि पनि बाँच्न सक्दैन, जेनेटिक दोष, अहिले गर्भपतन सेवा बढेर देशको सरकारी संस्थादेखि निजी अस्पताल र क्लिनिकसम्म पुगिसक्यो । तर अझै पनि धेरै महिलाले यस्तो सुविधा लिन सकेका छैनन् । 

धेरैलाई सेवा बारे थाहै पनि छैन, जसले गर्दा कतिको ज्यान गएको छ त कतिको स्वास्थ्य बिग्रिएको छ । एक महिनामा  ४–५ जना जति महिला असुरक्षित तरिकाले गर्भपात गराउँदा उत्पन्न जटिलताको उपचारका लागि वीरगञ्ज ओम हस्पिटल बिर्तामा आउँछन् । नेपालमा बर्सेनि ३ लाख २३ हजार गर्भपात गराइन्छ जसमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपात गराउँछन् । अर्थात् बर्सेनि एक लाख ८६ हजार १४४ महिला र किशोरी ज्यानको जोखिम मोलेर गर्भपात गराइरहेका छन् । तीमध्ये १९ प्रतिशतले चिकित्सकको सल्लाहबिनै फार्मेसीबाट औषधि किनेर गर्भपात गराइरहेका छन् । 

यसरी असुरक्षित गर्भपात गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर  जस्तै रक्तस्राव नरोकिने, बेहोस हुने, पाठेघर प्वाल पर्ने, पाठेघरमा संक्रमण हुने, आन्द्रा काटिने, पछि उनीहरूमा  सन्तान नहुने र ज्यान समेत गएको हुनाले सुरक्षित तरिकाले गर्भपात गर्न गराउन जरुरी छ ।

गर्भपात विशेष तालिम लिएका चिकित्सकबाट र सरकार ले सुचिकृत  गरेको अस्पतालमा मात्रै गर्न मिल्छ नत्र भने गर्भपतन पछि हुन सक्ने जटिलता व्यवस्थापन गर्ने पूर्वाधार नभएका क्लिनिकले यस्तो तरिकाले गर्भपात गर्दा महिलाको ज्यानै जाने जोखिम हुन्छ । असुरक्षित गर्भपातका कारण केहीको आधा भ्रूण पेटमै छुटेको हुन्छ, कसैको  भ्रूण कुहिएर संक्रमण भइसकेको हुन्छ,  कतिको त संक्रमण रगतसम्मै फैलिसकेको हुन्छ, तीमध्ये केही महिलालाई १५ दिनसम्म आईसीयू  राखेर, ४ देखि ५ पोका रगत दिई  उपचार गर्नु पर्छ  भने कतिलाई  सल्यक्रिया गरेर पाठेघर नै फाल्नुपर्छ । केहि स्वास्थ्य कर्मीलाई सबै कुरा थाहा भएपनि गर्भपतन सुचिकृत संस्थामा नगरी, प्रोटोकोल अनुसार औषधी नदिइकन असुरक्षित गर्भपातका कारण धेरै महिला गम्भीर समस्या भोग्नु परेको र तीमध्ये एकतिहाइलाई आईसीयू कक्षमै राखेर उपचार गर्नुपरेको र कति जनाले ज्यान गुमाएको अवस्था छ । 

असुरक्षित गर्भपात दण्डनीय, मुलुकी अपराध संहिता ऐनले गैरकानुनी रूपमा या असुरक्षित गर्भपात गर्ने र गराउनेलाई सजाय तोकेको छ । १२ हप्तासम्मको गर्भपात गरे १० हजार रुपैयाँ जरिवाना र एक वर्ष जेल सजाय हुन्छ । २५ हप्तासम्मको गर्भपात गरे ३० हजार जरिवाना र तीन वर्ष जेल सजाय तथा २५ हप्ताभन्दा माथिको गर्भपात गराए ५० हजार जरिवाना र ५ वर्ष जेल सजाय तोकिएको छ । 

नेपालको सविधान अनुसार कुनै पनि महिला १८ बर्ष लागेपछि उ आफु राजी खुशी आफ्नो गर्भपतन गराउन सक्छ तर  कुनै पनि महिलालाई डरधम्कीबाट, प्रलोभनमा पारेर र झुक्याई गर्भपात गराउनु गैर कानुनी हुन्छ र यसमा ज्यान मारा  मुद्धा  पनि लाग्छ । गर्भपातले कानुनी मान्यता पाएसँगै बलात्कार र हाडनाता करणीका कारण गर्भवती भएका महिलाले सामाजिक इज्जत जोगाउन आत्महत्या रोज्नुपर्ने बाध्यता हट्यो । तर, गर्भपात गर्न पाउने यही कानुनी अधिकारबारे थाहा नपाएर महिलाले कहिलेसम्म ज्यानको जोखिम मोल्नुपर्ने हो ?

सुरक्षित, गर्भपात गर्न कानुनले छुट दिएपनि समाजले छुट नदिएकाले कतिपय महिलाले असुरक्षित तरिकाले गर्भपात गराउनुपरेको छ । सेवा लिन अस्पताल जानुपर्ने, गर्भपातबारे सोधखोज हुने र गोपनीयता भंग हुने डरले धेरैजसोले फार्मेसीबाट औषधि किनेर आफैं गर्भपात गर्न रुचाउनेको संख्या धेरै छ र आजभोलि गर्भपातलाई परिवार नियोजनको साधनका रूपमा लिनेको मात्रा पनि बढेको छ । वीरगञ्ज ५, रेशम कोटीका  तीन छोरीकी आमालाई थप सन्तान जन्माउन मन थिएन । उनको समुदाय (मुस्लिम) मा औषधि खाएर गर्भ रोक्ने या गर्भपात गर्ने विषयमा बोल्न समेत बन्देज भएको हुनाले उनले घरपरिवारलाई थाहा नदिई गर्भपात गर्ने निर्णय लिइन् र घर नजिकैको फार्मेसीमा आफ्ना समस्या बताइन् । औषधि बिक्रेताले भनेअनुरूप औषधि खाइन् । यसले गर्दा उनको ज्यान गयो । पछि जाँच गर्दा उनको गर्भ पाठेघरमा नबसेर अन्त रहेको थाह पाइयो । ति महिलाको ज्यान सजिलै बचाउन सकिन्थ्यो । 

डा. जगत दिपका अनुसार नेपाल सरकारले सूचीकृत गरेका संस्था, स्वास्थ्यकर्मी र औषधिबाहेक अन्य कुनै पनि तरिकाबाट गरिएको गर्भपात असुरक्षित हो । नेपालमा सरकारले मान्यता नदिएका स्वास्थ्य संस्था र व्यक्तिबाट पनि गर्भवती महिला आफैंले गर्भपात गर्ने–गराउने चलन धेरै छ । असुरक्षित गर्भपात घटाउन धेरैभन्दा धेरै मानिसलाई यसबारेमा थाहा दिनुपर्ने डा. दिप बताउँछन् ।  चिकित्सकको सल्लाह र निगरानीबिना खाँदा जटिलता भएर ज्यानै लिन सक्ने औषधि फार्मेसीबाट खुला रूपमा बिक्रीवितरण भइरहेको बताउँदै उनले भने, ‘चार सय देखि ६००  रुपैयाँ पर्ने औषधि तीन हजारसम्म लिएर बेचेका छन् ।

कसरी खाने भन्ने परामर्श पनि छैन, जटिलता पैदा भए के गर्ने भनेको पनि छैन ।’ यस्तो विकृतिमाथि राज्यले अनुगमन गरेर नियन्त्रण नगरेसम्म महिलाले दुःख पाइरहने उनले बताए । कसैले गर्भपातबारे नबुझेर फार्मेसीमा औषधि किन्न गइहाले पनि औषधि बिक्रेताले सुरक्षित गर्भपात गर्ने संस्थामा पठाइदिनुपर्ने उनको भनाइ छ । वीरगञ्जमा नारायणी अस्पताल, मेरी स्टोप सेन्टर, वीरगञ्ज ओम हस्पिटल नेपाल सरकार द्वारा मान्यता प्राप्त संस्थाहरु हुन् ।

असुरक्षित गर्भपात गराएर मृत्युकै मुखमा पुग्नुभन्दा त परिवार नियोजनका साधन प्रयोग गर्दा र नियमित रूपमा चिकित्सकको निगरानीमा बस्दा सुरक्षित भइने डा. दिपको सुझाव छ । ‘असुरक्षित तथा गैरकानुनी व्यक्ति वा स्थानबाट हुने गर्भपात न्यूनीकरणका लागि गर्भपातसम्बन्धी व्यापक सूचना तथा सन्देशहरू सम्प्रेषण गर्न आवश्यक छ । विशेष गरी ग्रामीण क्षेत्रका महिलामा सेवाको पहुँच पुग्नुपर्छ । अनिच्छित गर्भका कारण भइरहेको गर्भपातको दरमा कमी ल्याउन उच्च गुणस्तरीय परिवार नियोजन सेवाका साथै परामर्श सेवामा महिलाको पहुँच पु-याउनुपर्ने देखिन्छ ।

Back to top