×

वीरगञ्ज, २८ जेठ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले स्थान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) बिना विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

महाशाखाले शुक्रबार वीरगञ्जमा सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजि) विद्यालयहरुको नाममा एउटा सूचना जारी गर्दै ट्रान्सफर सर्टिफीकेट बिना कुनै पनि शर्तमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो ।

नगर शिक्षा समितिको जेठ २० गते बसेको बैठकले ट्रान्सफर सर्टिफिकेट बेगर विद्यार्थी भर्ना गर्ने विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको जनाउँदै महाशाखाले त्यस्तो नगर्न आग्रह गरेको छ ।

विद्यालयहरुले सर्टिफिकेट बिना विद्यार्थी भर्ना गरे उजुरी परेको खण्डमा त्यसको सम्पूर्ण क्षतिपूर्ति सम्बन्धीत विद्यालयलको प्रधानाध्यापकबाट असुलउपर गराइने सूचनामा उल्लेख छ ।

यहाँ सञ्चालित विद्यालयहरुले ट्रान्सफर सर्टिफिकेट बिनानै विद्यार्थी भर्ना गर्ने गरेको पाइएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यसअघि कोरोनाभाइरस महामारीका कारण विगत २ महिनादेखि बन्द रहेका विद्यालय असार १ गतेदेखि क्रमस खोल्दै जाने निर्देशन दिएको थियो ।

Back to top