×

२८ जेठ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हान्ने एक युवकलाई त्यहाँको अदालतले ४ महिनाको जेल सजाय सुनाएको छ । सुरूमा अदालतले ती युवकलाई १८ महिनाको जेल सजाय सुनाएको भए पनि १४ महिना निलम्बन गरेर ४ महिना मात्रै जेलमा राख्ने फैसला गरेको हो ।

स्वागत गर्ने बहानामा राष्ट्रपतिको गालामा थप्पड लगाउन ती २८ वर्षीय युवकको नाम डेमियन तारेल हो । गत मंगलबार एक सार्वजनिक समारोहमा भ्रमणमा निस्किएका बेला डेमियन तरेलले राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए । त्यसलगत्तै तारेललाई हिरासतमा लिइएको थियो । उनलाई अदालतले कुनै पनि सार्वजनिक पद धारण गर्न र पाँच वर्षसम्म हतियार राख्न नपाउने गरी प्रतिबन्ध समेत लगाएको छ ।

राष्ट्रपति म्याक्रों आफ्नै निर्वाचन क्षेत्र ड्रोम क्षेत्रमा आफ्ना नागरिकहरुसँग भेट्घाट गर्ने क्रममा यस्तो घटना भएको बताइएको छ । उक्त क्रममा एक समूहले ताली बजाएर म्याक्रोंको स्वागत गरिरहेका वेला तारेलले भने हात मिलाउन खोज्दै गालामा थप्पड हानेका थिए ।त्यसलगत्तै राष्ट्रपति म्याक्रोंका सुरक्षा अधिकारीले म्याक्रोंलाई सम्हालेका थिए भने ती व्यक्तिलाई तानेर नियन्त्रणमा लिएका थिए ।

तारेलले थप्पड लगाएपछि ‘डाउनविथ म्याक्रोंइज्म’ भन्दै राष्ट्रपतिविरुद्ध नारा लगाएका आवाज भिडियो क्लिपमा सुनिएको बिबिसीले जनाएको छ । अदालतमा सुनुवाइका क्रममा तारेलले आफूलाई म्याक्रों मन नपर्ने र उनकै कारण फ्रान्स उधोगतितिर गइरहेको बताएका थिए ।

साथै उनले म्याक्रोंलाई अन्डा र क्रिमले हान्ने योजना साथीहरुसँग बनाएको तर लास्टमा क्यान्सिल गरेको पनि बताएका छन् । थप्पड हान्ने चाहिँ पूर्वयोजना थिएन, तर आवेशमा आएर हानेको उनको भनाइ छ ।

Back to top