×

२८ जेठ ।  युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ ।


 प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए । 


टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ । 


यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ  । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ । 

इटलीले २०१८ यता कुनै पनि खेल हारेको छैन र २०२१ मा एक गोल पनि खाएको छैन । पछिल्लो समय चेक गणतन्त्रविरुद्ध इटलीले निकै उत्कृष्ट खेल देखाएको थियो, युरोअघिको यस वार्मअप खेलमा उसले ४–० को जित निकाल्यो । यस खेलमा इटलीका तीनवटै स्ट्राइकर लोरेन्जो इन्जाघी, सिरो बेरार्डी र सिरो इम्मोबिल सबै फर्ममा देखिएका थिए ।

सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा पनि प्रतियोगिताको फाइनलमा पुगेको थियो । टर्कीले आजको खेलसँगै आफ्नो चौथो युरो यात्रा थालनी गर्नेछ । यसअघिका तीन संस्करणमध्ये उसले सन् २००८ मा सेमिफाइनल यात्रा गरेको थियो ।

Back to top