×

वीरगञ्ज, २८ जेठ । एलोपेथिक औषधि उत्पादक कम्पनी नेशनल हेल्थ केयर प्रालिले १ अर्ब रुपैयाँ बैंकबाट कर्जा लिने भएको छ । नाफामा सञ्चालन भइरहेको २३ वर्ष पुरानो यो उद्योगले किन यति ठूलो रकम कर्जा लिन लागेको हो ? यो स्वाभाविक चासोको विषय हो ।

यो जिज्ञासाको जवाफ अघि यो उद्योगको बारेमा केही महत्वपूर्ण कुरा थाहा पाइराखौं । घण्टाघर  लिंक रोडबाट औषधि पसल र औषधि वितरकको व्यापारबाट यो कम्पनीको शुरुवात भएको हो । सखुवा प्रसौनीका सामान्य किसान परिवारका राधेश्याम चौधरी र वीरगञ्जको मारवाडी परिवारका जगदीश रुंगटा यसको मुख्य लगानीकर्ता हुन् । 

२०५५ सालमा बाराको छातापिपरामा उनीहरुले थोरै पूँजीमा उद्योग शुरुवात गरेका हुन् । यो उद्योग अहिले करिब ३ लाख ५० हजार वर्गफिट क्षेत्रफलमा‌ फैलिएको छ । उद्योगको फरक फरक उत्पादन ब्लकबाट २२ वटा समूह अन्तर्गत ३ सय ६० प्रकारका औषधिहरू उत्पादन गरिरहेको छ । यसको मुख्य प्राथमिकता एन्टीमाइक्रोबायल औषधि हो ।

निको ब्राण्डमा ज्वरो लाग्दा प्रयोग हुने पारासिटामोल औषधि उत्पादन गरेर नेशनल हेल्थ केयर झण्डै २३ वर्ष पहिले नेपाली बजारमा प्रवेश गरेको‌ हो ।

देशभर ७ सय ५० भन्दा बढी वितरक मार्फत बजार पहुँच बनाएको यो उद्योगले प्रत्यक्ष र अप्रत्यक्षरुपमा ९ सय भन्दा बढी जनालाई रोजगारी प्रदान गरेको छ । यस उद्योगले नेपाली बजारमा बिक्री हुने औषधिको कारोबार रकमको हिसाबले साढे ५ प्रतिशत हिस्सा ओगटेको छ ।

गत आर्थिक वर्षमा यो कम्पनीको सञ्चालन मुनाफा मात्र २ अर्ब २२ करोड रुपैयाँ भन्दा बढी रहेको छ । अघिल्लो आवमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा औषधि निर्यातको संभावनालाई मध्यनजर गर्दै आफ्नो उद्योगको आधुनिकीकरण गर्न लागेको छ । हाल विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन प्रकृया (डब्लुएचओ जिएमपि) मापदण्ड अनुसार औषधि उत्पादन गरिरहेको छ । युरोपेली बजारमा पहुँचको लागि उद्योगले युरोपेली उत्पादन मापदण्ड कार्यान्वयनमा ल्याउनको लागि पूर्वाधार बिस्तारमा‌ लगानी गर्ने भएको हो ।‌ बैंकबाट कर्जा लिन लागेको १ अर्ब मध्ये ६१ करोड रुपैयाँ दीर्घकालीन कर्जाको रुपमा लिंदैछ । यो रकम पूर्वाधार निर्माण, मेशिनरी उपकरणमा लगानी हुनेछ । यसैगरी बाँकी ३९ करोड रुपैयाँ अल्पकालीन लगानीको लागि लिने भएको हो । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले कर्जा लगानीमा मुख्य ४ वटा चुनौती औंल्याएको छ । केयर नेपालका अनुसार समयमै पूर्वाधार निर्माण हुन नसक्दा आउन सक्ने जोखिम, चर्को बजार प्रतिस्पर्धा, नियामक निकाय औषधि व्यवस्था विभागको नीतिगत व्यवस्थामा हुन सक्ने फेर बदल र‌‌ अस्थिर ब्याज दरको कारण हुने जोखिम ।

विदेशी लगानी भित्र्याउने पहल:

यो उद्योगको सञ्चालकहरुले विदेशी लगानी भित्र्याउनको लागि समेत प्रयास गरेका छन् । सन् २०१८ मा म्यानमारको लगानी तथा उद्योग व्यवस्थापन विभागको निमित्त महानिर्देशक मरलार म्यो न्युन्टसँग भेटवार्ता गर्दै औषधि उत्पादनमा लगानीको विषयमा सिए जगदीश रुंगटा र अर्का सञ्चालक राधेश्याम चौधरीले छलफल गरेका थिए ।

Back to top