×

वीरगञ्ज, २७ जेठ ।  प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिवार प्रदेश प्रमुख राजेश झा अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले दलित, सीमान्तकृत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा केही पुराना कुरालाई यथावत राख्दै केहीलाई नया पनि थपिएको छ । नीति तथा कार्यक्रममा उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, दलित, मुस्लिम, छात्रा तथा मधेश आन्दोलनका शहीद परिवार, घाइते परिवारका लागि छात्रवृत्तिको व्यवस्था गरिने भनिएको छ ।

रोजगारविहीन दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै कोरोनाबाट रोजगारी गुमाएका श्रमिक वर्ग, विपन्न तथा शहीद परिवारका आश्रितका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।

वीरगञ्ज, जनकपुरधाम र राजविराजमा सीप विकास केन्द्र खोल्ने कामलाई अगाडि बढाइने प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ ।प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक जलाशय÷पोखरी निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन गरिने तथा ‘संरक्षण हाम्रो मन, प्रदेशको वन प्रदेशकै धन’ भन्ने मार्गदर्शनलाई साकार पार्न वन क्षेत्रको प्रदेशस्तरीय गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति सरकारले लिएको छ । 

बाराको पथलैया र सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालन गरिने प्रदेश सरकारको नीति छ । स्मार्ट सवारी चालक पहिचान पत्र प्रदेशबाट नै वितरण गर्ने कार्यलाई प्रारम्भ गरी प्रभावकारी रुपमा सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।

‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम् सुख’ भन्ने नारालाई चरितार्थ गराउन स्थानीय तह समेतको सहकार्यमा सडक किनारमा बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री हरित प्रदेश अभियान कार्यक्रमअन्तर्गत वार्षिक एक करोड बिरुवा रोप्ने अभियानलाई व्यापीकरण गरिनेछ । वर, पीपल, समी, निमलगायतका धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय महत्वका वनस्पतिहरु रोपिने प्रदेश सरकारले जनाएको छ ।

जनकपुरधाममा मधेश सम्मेलन केन्द्र निर्माण गर्ने, वीरगञ्ज र जनकपुरधामको विकासका लागि दुवै ठाउँमा विकास प्राधिकरण गठन गर्ने प्रदेश सरकारले उल्लेख गरेको छ । चालु आवमा खरीद गरिएको प्रदेश परिवहन बसलाई आगामी आर्थिक वर्षदेखि सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्सादेखि सप्तरीसम्मका पूर्व–पश्चिम राजमार्ग सडकलाई मधेशी शहीद सडक घोषणा गर्ने प्रदेश सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा बताउँदै आएको छ । यस वर्षको नीति तथा कार्यक्रममा पनि यो कुरा समेटिएको छ ।

पर्सादेखि सप्तरीसम्मको २५० किलोमिटर खण्डलाई मधेशी शहीद राजमार्ग घोषणा गर्ने सरकारले यस पटक पनि जनाएको छ । उक्त कार्यको अध्ययन कार्य प्रारम्भ भइसकेको र यसलाई थप प्रभावकारी बनाइ कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ ।

यस्तै संघीयता आन्दोलनका अगुवा स्व. गजेन्द्रनारायण सिंह र गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको शालिक निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा राखिएको छ  । 
प्रत्येक वर्षको नीति तथा कार्यक्रममा यो कुरा समेटिए पनि हालसम्म यो काम हुन सकेको छैन । शहीद दुर्गानन्द झाको शालिक जनकपुरधाममा निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 

Back to top