×

वीरगञ्ज, २७ जेठ ।  आउँदो हप्तादेखि देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको हुँदा केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । अहिले देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको मौसमविद् गङ्गा नगरकोटीको भनाई छ । त्यसैले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।

 सामान्यरूपमा गएको १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आउँदो आइतवार हो । अक्टोबर २ मा बाहिरिने छ ।

सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुन सक्छ ।
 

Back to top