×

२७ जेठ ।  विश्वका कैयौँ देश कोरोना भाइरस (कोभिड– १९) को दोस्रो लहरले आक्रान्त बनिरहेका छन् । पहिलो र दोस्रो लहर भोगिसकेका देशहरूमा पनि तेस्रो लहर कति वेला फैलने हो भन्ने त्रास छ । यद्यपि, कोरोना नियन्त्रणका विभिन्न प्रयास र खोप अभियान भने जारी नै छ । यसैबीच केही देशले भने कोरोना नियन्त्रणमा सफलता प्राप्त गरिरहेका छन् । उनीहरूले आफ्नो देशमा मास्क फ्रीको घोषणासमेत गरेका छन् । हेरौँ कारोना नियन्त्रणमा राख्ने देशहरू :

इजरायलमा १५ जुनदेखि मास्क लगाउनु नपर्ने
इजरायलले कोभिड–१९ नियन्त्रणमा सुरुदेखि नै प्रभावकारी अभियान चलाएको छ । गत महिना प्यालेस्टाइन र इजरायलबीचको आन्तरिक युद्धले कोरोना नियन्त्रण अभियान प्रभावित भए पनि इजरायली सरकारले यो अभियानलाई भने निरन्तरता दियो । जसका कारण १५ जुनदेखि इजरायलमा मास्क नलगाए पनि हुने घोषणा गर्ने तयारी छ ।

इजरायलका स्वास्थ्यमन्त्री युली एडलस्टिनले कोरोना भाइरसविरुद्धको लडाइँ र खोप अभियान सफल भएको जानकारी दिएका छन् । फेरि महामारी फैलिएपछि निर्णय फिर्ता हुने उनले स्पष्ट पारेका छन् । ‘सरकारले १५ जुनबाट मास्क लगाउनुपर्ने नियम हटाउनेछ, यदि संक्रमित बढे फेरि मास्क लगाउनुपर्नेछ,’ स्वास्थ्यमन्त्री युलीले भने । यसअघि इजरायलमा १ जुनमै भिडभाड तथा सामाजिक दूरीको नियम हटेको थियो । यात्रासम्बन्धी प्रतिबन्ध भने यथावत् नै छ । गत आइतबारदेखि इजरायलले १२–१५ वर्षका किशोरहरूलाई पनि भ्याक्सिन लगाउन थालेको छ । इजरायलमा अहिलेसम्म आठ लाख ३९ हजार पाँच सय ८५ जना संक्रमित भएका छन् । जसमध्ये आठ लाख ३२ हजार नौ सय ८१ जना निको भएका छन् । कोरोनाका कारण यहाँ ६ हजार चार सय १८ जनाले ज्यान गुमाएका छन् । 

भुटान
भारत र चीनसँग सिमाना जोडिएको भुटान दक्षिण एसियाकै सवैभन्दा कम संक्रमित भएको देश हो । अहिलेसम्म यहाँ एक हजार सात सय २४ जना मात्रै कोरोना संक्रमित छन् । जसमध्ये एक हजार चार सय १६ जना निको भएका छन् । भुटानमा अहिलेसम्म जम्मा एकजनाले मात्रै संक्रमणबाट ज्यान गुमाएका छन् । भुटान सरकारले अहिलेसम्म ९० प्रतिशत जनतालाई कोरोनाविरुद्धको दुवै डोज खोप दिइसकेको छ । भुटानले दुई हप्तामै खोप अभियान सकेको थियो । ९० प्रतिशत नागरिकले भ्याक्सिन लगाइसकेका कारण भुटानी सरकारले ‘फ्री मास्क’ घोषणा गरेको छ । ‘फ्री मास्क’ घोषणा गर्ने भुटान विश्वकै पहिलो देश हो । 

न्युजिल्यान्ड
कोरोनाको पहिलो लहरमाथि नियन्त्रण कायम गर्ने न्युजिल्यान्ड पहिलो देश थियो । त्यसवेला न्युजिल्यान्डले देखाएको कार्यप्रति विश्वभर प्रशंसा भएको थियो । तर, दोस्रो लहर न्युजिल्यान्डमा अनियन्त्रित बन्यो । जसका कारण अहिले न्युजिल्यान्डका केही सहरमा लकडाउन छ । न्युजिल्यान्डमा अहिलेसम्म दुई हजार ६ सय ९६ जना संक्रमित भएका छन् भने दुई हजार ६ सय ४६ जना निको भएका छन् । यहाँ कोरोनाका कारण २४ जनाको निधन भएको छ । लकडाउन नभएका सहरमा विनामास्क हिँडडुल गर्न खुला गरिएको छ । 

अमेरिका
अमेरिका पनि मास्क फ्री देशमा पर्छ । यद्यपि, यहाँ अहिले पनि कोरोना संक्रमण दर उच्च नै छ । अमेरिकामा अहिलेसम्म तीन करोड ४२ लाख ४२ हजार आठ सय ६६ जना संक्रमित छन् । कोरोनाका कारण ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रपति जो बाइडेनले खोपको अभियानलाई तीव्रता दिएका छन् । कोरोनाको पहिलो लहरले जीर्ण बनाए पनि दोस्रो लहरलाई भने अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ । यहीकारण यहाँका कतिपय सहर र स्थानमा मास्क लगाउनुपर्दैन । संक्रमित संख्या निकै कम भएका राज्यहरूमा बिहान वा साँझ हिँडडुल गर्दा, घरबाट बाहिर निस्कदा, सानो भेला तथा खेलकुद कार्यक्रममा सहभागी हुँदा मास्क लगाउनु नपर्ने नियम छ । 

चीन
चीनमाथि कोरोना भाइरस उत्पत्ति गरेको आरोप पनि लाग्दै आएको छ । चीनको वुहानका ल्याबबाट कोरोना भाइरस फैलिएको अमेरिका तथा पश्चिमेली राष्ट्रहरूको दाबी छ । यद्यपि, चीनले यो दाबीलाई अस्वीकार गर्दै आएको छ । यहाँ पनि कोरोना संक्रमणको पहिलो लहरले निकै क्षति पुग्यो । तर, चीनले त्यसवेला अपनाएको नीतिले कोरोना नियन्त्रणमा आयो । अहिलेसम्म चीनमा ९१ हजार तीन सय १६ जना मात्रै संक्रमित भएका छन् । जसमध्ये ८६ हजार दुई सय ६७ जना निको भएका छन् । चीनमा कोरोनाका कारण चार हजार ६ सय ३६ जनाको निधन भएको छ । कोरोनामाथि नियन्त्रण गरेको चीनले मास्क फ्री गरेको छ । 

एजेन्सीहरूको सहयोगमा 

Back to top