×

वीरगञ्ज २७ जेठ । विवाहित हिन्दू तराईका नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व  (तराईका नारी) ले आज मनाइरहेका हुन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने तराईमा परम्परा छ । 


जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु तराईका महिलाले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै तराईका महिलाले घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वट वृक्षको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने महिलाहरुको जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज घरमै पर्व मनाइरहेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की मनोरमा सर्राफले बताउनुहुन्छ ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व तराईनीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि कोभिड–१९ महाव्याधि छल्न जारी निषेधाज्ञाभित्र पर्व मनाउनुपरेकाले घरघरै छुट्टाछुट्टै पर्व गर्नुपरेको सर्राफले बताउँछन् । गत वर्ष पनि पर्वको बेला कोरोना कहरले जारी लकडाउनभित्रै पर्व मनाउनुपरेको सर्राफको  सम्झन्छन् ।

तराईमा केही वर्ष पहिलेसम्म व्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । 
 

Back to top