×

वीरगञ्ज, २६ जेठ । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् । राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली काङ्ग्रेस र माओवादीलाई सरकारमा तानेका हुन् ।

मुख्यमन्त्री राउतले माओवादी र कांग्रेसलाई सत्तामा ल्याउने भएपछि मन्त्रालय टुक्राएर ११ वटा बनाएका छन् । जस अनुसार प्रदेश २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले ५ वटा मन्त्रालय राखेको छ ।

त्यस्तै मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई तीनवटा र माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिएका छन् । राउतले भौतिक मन्त्रालयमा कांग्रेस दलका नेता रामसरोज यादवलाई जिम्मेवारी दिएका छन् ।

कांग्रेसकै सांसद् ओमप्रकाश शर्मालाई उर्जा तथा सिँचाइ मन्त्री बनाइँदै छ । कांग्रेसका अर्का सांसद वीरेन्द्र सिंहलाई महिला, बालबालिका तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

उता माओ‌वादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ । जस अनुसार माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन् । उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन ।

अब प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालय भएका छन् । नयाँ मन्त्रीहरुको सपथ आजै साँझ साढे ७ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ ।

Back to top