×

२६ जेठ । ‘मैले थ्री नेसन्स कपमा नेपालको खेल हेरेको छु। मलाई नेपाली टिमको त्यस्तो प्रदर्शनले सन्तुष्टि दिँदैन,’ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएकै दिन अब्दुल्लाह अलमुताइरीले भनेका थिए।

त्यसपछिका तीन खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको विश्लेषक तथा समर्थक बताउँछन्। फिफा विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईलाई कुवेती भूमिमा हराएपछि कप्तान किरणकुमार लिम्बूले पनि राष्ट्रिय टिममा आत्मविश्वास बढेको बताएका थिए।

चाइनिज ताइपेईलाई हराएपछि उनले भनेका थिए, ‘हामीले फाइटिङ फुटबल खेलिरहेका छौं। मैले राष्ट्रिय टिमबाट खेलेको १३–१४ वर्ष भइसक्यो। तर, अहिलेको प्रशिक्षकले नेपाली खेलाडीको आत्मविश्वास लिएर आएको जस्तो लाग्छ।’

उनले भन्न खोजेको आत्मविश्वास त्यही थियो– नेपाली खेलाडीले ठूलो देशविरुद्ध पनि अट्याकिङ फुटबल खेल्न सक्छ।

नेपाली टिमले त्यसअघि ठूला टिमविरुद्ध रक्षात्मक फुटबल खेल्दै आइरहेको थियो। त्यसको नतिजा थियो- नेपालले अष्ट्रेलिया, जोर्डन, कुवेतलगायतका टिमविरुद्ध गोल फर्काउन नसक्नु।

विश्वकप छनोटमै पनि पहिलो लेगको खेलमा नेपालले अष्ट्रेलियासँग ५–० गोलको हार बेहोरेको थियो भने जोर्डनसँग ३–० गोलको। 

कुवेतसँग पहिलो लेगमा ७–० गोल र रिटर्न लेगमा ०–१ गोलको हार बेहोरेको नेपाली टिम अहिले ठूला देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति लिएको प्रशिक्षकले बताइरहेका थिए।

त्यसबाहेक नेपालले जापान, इरान, इराक, कुवेत, साउदी, यूएईलगायतका देशसँग खेलिसकेको र जित निकाल्न नसकेको (कतिपय खेलमा गोल फर्काउन पनि नसकेको) राष्ट्रिय टिमका पूर्व प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्।

‘योजनाअनुसार एउटा राम्रो प्रशिक्षकलाई लामो समय टिम हेर्ने जिम्मेवारी दिनुपर्छ। अहिले टिमले कुवेती प्रशिक्षक पाएको छ। फुटबल खेलाडीदेखि समर्थक सबैले उनलाई मन पराएका छन्। उनलाई लामो समय हेर्न दिनु परो नि! हाम्रो त के हुन्छ भने एउटा प्रशिक्षक आउँछ एउटा शैलीमा खेलाउँछ। अर्को आउँछ अर्कै शैलीमा खेलाउँछ। यसले देशले खेल्ने किसिमको फुटबल पनि बन्दैन।’

उनी भन्छन्, ‘हामीले पहिलेबाटै रक्षात्मक खेलिरहेको, रक्षात्मक नै खेले पनि गोल त खाने नै रहेछ। सधैँ रक्षात्मक खेलेर बसिरह्यो भने अट्याकिङ खेल्न सक्दैनौँ। त्यसो भयो भने अघि बढ्न सक्दैनौं।’

तर, चाहँदाचाहँदै पनि सोमबार राति जोर्डनविरुद्धको खेलमा नेपालले आक्रामक सम्झनलायक मुभ बनाउन सकेन। नेपालले बनाउन खोजेको केही आक्रमण पनि जोर्डनका गोलकिपरसम्म पुग्न सकिरहेका थिएनन्।

‘सोमबारको खेलमा जोर्डनले हामीलाई खेल्नै दिएन,’ शाक्य भन्छन्, ‘बलियो टिम जोर्डनले बल खोसेर नेपालका लागि खतरा हुने ठाउँमा बलहरू घुमाइरहेको थियो।’

त्यसैले आक्रामक फुटबल खेल्न चाहँदाचाहँदै रक्षात्मक खेल्न पुग्नु नेपाली फुटबलको नियति भएको छ। अहिले प्रशिक्षक अलमुताइरी छनोटको अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध सन्तुलित फुटबल खेल्ने दाउमा छन्।

जोर्डनविरुद्ध ०–३ गोलको हार बेहोरेपछि अलुमताइरीले भने, ‘हामी अब अर्को खेलमा अस्ट्रेलियाविरुद्ध सन्तुलित खेल खेल्ने तयारीमा हुनेछौं।’

आक्रामक खेल्ने भनेको टिमले फेरि सन्तुलित खेल्दा त्यही रक्षात्मक बन्दैन भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘अष्ट्रेलिया विश्वकप खेलेको टिम हो। त्यसैले अष्ट्रेलियाविरुद्ध कस्तो अट्याकिङ खेल्ने भन्ने महत्त्वपूर्ण हुन्छ। जोर्डनसँगको खेल हेरेर नेपालले अष्ट्रेलियासँग आक्रामक खेल्ला भन्न सकिँदैन। बल पोसेसन पनि चाहिन्छ। गति र पासमा एकुरेसी चाहिन्छ।’

नेपालले आक्रामक खेलको प्रयास पहिले पनि नगरेको भने चाहिँ होइन। ‘२००२ को विश्वकप छनोटमा म राष्ट्रिय टिमको प्रशिक्षक थिएँ। त्यतिबेला पनि के सल्लाह भएको थियो भने कति हामीले डिफेन्समै खेल्ने ? पहिले सात गोल खाएको भए १० गोल खाइएला तर एक गोल त फर्काउन सकिन्छ नि भन्ने माइन्ड सेटमा हामी खेलिरहेका थियौँ,’ प्रशिक्षक शाक्यले भने।

त्यही समय थियो, जतिबेला निरन्जन रायमाझी र हरि खड्कालगायतका खेलाडीले गोल गर्ने गर्थे। तर आक्रामक खेल्नुको अर्थ रक्षात्मक नखेल्नु भन्ने नलाग्ने शाक्यको ठम्याइ छ। 

‘धेरै टिमले रक्षात्मक खेलेर सफलता पाएका छन्। आफ्नो सुरक्षा पनि गरेर हामीले आक्रामक खेल्नुपर्छ भन्ने अहिले नेपाली फुटबल केन्द्रित छ,’ उनी भन्छन्, ‘प्रशिक्षकले हाम्रो इतिहास र रेकर्ड हेरेर नै आएका होलान्।’

त्यसैले नेपालले एकैपटक ठूलो प्रतियोगिता हेर्ने भन्दा पनि आफ्नो क्षमताका प्रतियोगितामा जित निकाल्न अघि बढ्नुपर्ने बताउँछन्।

‘अलमुताइरीले नेपाललाई साफ च्याम्पियन बनाउने लक्ष्य राखेका छन्। उनले त्यो भन्दै आएका पनि छन्,’ उनले भने, ‘अहिलेको हाम्रो स्तर पनि साफ च्यम्पियनसिपको नै हो। र, अहिलेका प्रशिक्षकको रणनीतिमा खेलाडी जम्न सके भने त्यसले साफमा धेरै फाइदा गर्छ।’

सन् १९८१ पछिको डेढ दशक शाक्य नेपाली फुटबलमा खेलाडीका हिसाबले सक्रिय थिए। राष्ट्रिय टिमका सर्वाधिक क्याप (६८ क्याप) पाउने खेलाडी थिए शाक्य। पछि उनको रेकर्ड विराज महर्जनले तोडे।

सायद त्यही बेलादेखि नेपाली फुटबलमा मिडफिल्डमा देखाएको समस्या कहिले समाधान हुन सकेको छैन। मिडफिल्डबाट फरवार्डलाई पास पुग्न नसक्नु लामो समयदेखिकै समस्या हो।

यसको समाधानका लागि ग्रासरुट फुटबलबाटै योजना अघि बढाउनु पर्ने उनको सुझाव छ। ‘उमेर समूहबाटै खेलाडीलाई मिडफिल्डको ज्ञान दिएर फुटबल विकास गर्नु पर्छ। खेलाडी एकैपटक सिनियरमा आउने कुरा होइन। यसलाई एकेडेमिक स्तरबाटै विकास गनुपर्छ,’ उनी भन्छन्, ‘यसले गर्दा खेलाडीको प्रतिस्थापन पाइन्छ।’ 

‘प्रशिक्षकको रणनीति के छ भन्ने बाहिर थाहा हुँदैन। तर बलियो अपोनेन्ट भएर पनि हुन सक्छ उनको रणनीतिमा नेपाली खेलाडी खुलेर खेल्न सकेका छैनन्। के चाहिँ हो भने युवा खेलाडी लिएर खेलाएको देख्दा उनको प्रयोग सफल हुने सम्भावना देखिन्छ।’

फुटबल विकासका लागि नेपालको स्पष्ट मार्गचित्र हुनुपर्ने शाक्य बताउँछन्। नेपालले कति वर्षमा साफ च्याम्पियनसिप जित्ने, कति वर्षमा एसियन गेम्समा सहभागी बन्ने भन्ने योजना चाहिने र त्यहीअनुसार अघि बढनुपर्ने पूर्व प्रशिक्षक शाक्य बताउँछन्।

उनी भन्छन्, ‘योजनाअनुसार एउटा राम्रो प्रशिक्षकलाई लामो समय टिम हेर्ने जिम्मेवारी दिनुपर्छ। अहिले टिमले कुवेती प्रशिक्षक पाएको छ। फुटबल खेलाडीदेखि समर्थक सबैले उनलाई मन पराएका छन्। उनलाई लामो समय हेर्न दिनु परो नि! हाम्रो त के हुन्छ भने एउटा प्रशिक्षक आउँछ एउटा शैलीमा खेलाउँछ। अर्को आउँछ अर्कै शैलीमा खेलाउँछ। यसले देशले खेल्ने किसिमको फुटबल पनि बन्दैन।’

भिन्नभिन्न प्रशिक्षकले आफ्नो रणनीतिअनुसार भिन्नभिन्न खेलाडी छान्दछन्। उनी भन्छन्, ‘फेरि नेपालमा खेलाडीको अवस्था धेरै गाह्रो छ। बल्लबल्ल राष्ट्रिय टिममा पुगेको हुन्छ। अर्को पल्ट नपर्दा उसको मनोबल गिरिहाल्छ।’

धेरैअघि नेपाली फुटबलमा राम्राराम्रा प्रशिक्षक आएका थिए। सन् १९८० को दशकताका, जर्मनीका रुढी गुटेन्डर्फ नामक प्रशिक्षक आएका थिए। त्यस्तै पछि इंग्ल्यान्डका स्टेफेन कोन्टेस्टाइन र ग्राम रोबर्ट लगायतका राम्रा प्रशिक्षकहरू नेपालमा आए।

‘राम्रा प्रशिक्षक आए पनि नेपाली टिममा टिकेर खेलाउन सकेका छैनन्। कति प्रशिक्षकले हामीलाई एकदमै छोटो समय मात्र प्रशिक्षण गराए। उनीहरूले दिएको सानो–सानो टिप्स पनि खेल्नका लागि ठूलो सहायक बन्थ्यो,’ शाक्यले भने।

तर, नेपालमा पछिल्लो ४० वर्षमा ३८ पटक राष्ट्रिय टिमको मुख्य प्रशिक्षक फेरिइसकेका छन्। उनी प्रशिक्षकबारे थप भन्छन्, ‘प्रशिक्षक भनेको नेपालको संस्कृति, रीतिरिवाज बुझ्ने प्रकारको चाहिन्छ। कतिपय प्रशिक्षकहरू युरोपियन शैलीले जान खोज्छन् त्यो हाम्रो खेलाडीले दिन सक्दैनन् त्यसैले गाह्रो पर्छ।’

के अहिलेको प्रशिक्षकको रणनीतिमा नेपाली खेलाडी खुलेर खेल्न सकिरहेका छन् ? पूर्वप्रशिक्षक शाक्य भन्छन्, ‘प्रशिक्षकको रणनीति के छ भन्ने बाहिर थाहा हुँदैन। तर बलियो अपोनेन्ट भएर पनि हुन सक्छ उनको रणनीतिमा नेपाली खेलाडी खुलेर खेल्न सकेका छैनन्। के चाहिँ हो भने युवा खेलाडी लिएर खेलाएको देख्दा उनको प्रयोग सफल हुने सम्भावना देखिन्छ।’

‘अस्ट्रेलियाविरुद्ध नेपालको अन्तिम खेल (विश्वकप छनोटमा) हो। इराकमा बेहोरेको जस्तो हार फेरि बेहोर्न चाहन्नँ। नतिजा हार नै भए पनि गर्वका साथ खेल्ने छौं।’

केही खेलाडीले राम्रो खेलेका पनि छन्। प्रशिक्षक अलमुताइरीले यो सबै मिलाउन समय मागिरहेका छन्। 

‘पहिले एन्फा ब्याच हुँदा त नेपालको नतिजा राम्रो थियो नि। उनीहरू सँगै बस्ने, पढ्ने थिए। त्यसले फाइदा पुगेको थियो। नेपालले उमेर समूहमा राम्रो खेलिरहेको थियो,’ प्रशिक्षक शाक्य सम्झन्छन्।

अब नेपाली राष्ट्रिय टिमले आगामी जुन ११ मा अष्ट्रेलियासँग खेल्दै छ। तर, प्रशिक्षक अलमुताइरी अट्याकिङ मानसिकताबाट सितिमिति हार मान्ने पक्षमा भने देखिँदैन।

उनले अष्ट्रेलियाविरुद्धको खेलमा हार बेहोरे पनि गर्वले खेल्ने बताएका छन्। उनले भने, ‘अस्ट्रेलियाविरुद्ध नेपालको अन्तिम खेल (विश्वकप छनोटमा) हो। इराकमा बेहोरेको जस्तो हार फेरि बेहोर्न चाहन्नँ। नतिजा हार नै भए पनि गर्वका साथ खेल्ने छौं।’ यो समाचार नेपाल समयबाट ।

Back to top