×

वीरगञ्ज, २४ जेठ ।  राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्ध वीरगञ्जका व्यापारीसहित ५ वटा मुद्धा दायर गरेको छ । 

विभागले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ को भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार सहित चार जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हो । १ करोड २२ लाख रुपैयाँ विगो जफत र असुल गरी जरिवाना र कैद सजाय माग दावी लिइएको विभागले जानकारी दिएको छ । 

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा ट्रक चालक सुनिल कुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्र प्रसाद कलवार, भन्सार एजेन्ट नम्बर १२५ का राममणी खनाल तथा वीरगञ्ज भन्सार प्रतिनिधि अशोक कुमार श्रेष्ठले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको छ  ।

यस्तै उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमै रौतहतको वृन्दावन नगरपालिका वडा नम्बर ६ निवासी अमन कुमार तिवारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।  तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४० लाख रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिइएको छ । 

यसका अलावा विभागले सुनसरी, धरान, रुपन्देही, काठमाण्डौ लगायतका ठाउँमा गरी १७ करोड रुपैयाँ बराबरको राजस्व छलीविरुद्ध पाँच वटा मुद्दा दायर गरेको छ । 
 

Back to top