×

वीरगञ्ज, २४ जेठ । जनता समाजवादी (तत्कालीन संघीय समाजवादी) को नेतृत्वमा रहेको प्रदेश २ सरकारलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्न सहमत भएका छन् ।

केन्द्रीय गठबन्धनको नीतिअनुरुप नै मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुरपक्षीय चार जना मन्त्रीलाई आइतबार बर्खास्त गरेका छन् । महन्थ पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डललाई आइतबार बर्खास्त गरिएको थियो । केन्द्रको गठबन्धनअनुसार सत्ता समीकरण हुने भएपछि राउतले महन्थ पक्षका मन्त्री हटाएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेको कांग्रेसले उपेन्द्र पक्ष बलियो रहेको हुनाले उसकै नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयमा पुगेको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले जसपा अध्यक्ष उपेन्द्र यादवसँग कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । बाँकी अवधि कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव निधिले उपेन्द्रसँग गरेका थिए । कांग्रेस र माओवादीको प्रदेशमा साथ खोजेका यादव थप छलफल गर्ने वचन दिँदै शनिबार जनकपुर गएका थिए ।

यादवले जनकपुरमा रहँदा आफ्नो समूह थप शक्तिशाली बनाएका छन् । प्रदेश सभामा ३० सांसद रहेको यादवपक्षले महन्थ ठाकुर समूहका छ सांसद आफ्नो पक्षमा ल्याउन सफल भएको छ । संसद्मा हाल उपेन्द्र पक्षीय जसपाका ३६ सांसद पुगेका छन् । २५ सांसद रहेको महन्थपक्ष थप कमजोर बनेको छ । उक्त पक्षका छ सांसद घटेर १९ जनामा पुगेका छन् । ३६ जना सांसदको समर्थनसहित संसदीय दलको नेतामा राउत चुनिएका छन् ।

जसपा (यादवपक्ष) ३६, कांग्रेसका १९ र माओवादीका आठ सांसदसहित राउत थप बलियो बनेका छन् । माओवादी केन्द्रले तीन सांसदलाई हटाएपछि प्रदेश सभा सदस्य १०४ जना छन् । बहुमतका लागि ५३ मत आवश्यक पर्दछ । तीन दलका ६३ सांसदको समर्थन राउतले पाउने भएका छन् । 
 

Back to top