×

वीरगञ्ज २४ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।

 

केन्द्रमा देखिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) को लफडाका कारण पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री राउतले १ मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई आफ्नो मन्त्रीमण्डलबाट विदा गरेका थिए ।

आइतबार मात्रै जसपा प्रदेश नम्बर २ संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री राउतले उपेन्द्र यादवको निर्देशन अनुसार महन्थ ठाकुर निकट चारैजनालाई विदा गरेका हुन् । मुख्यमन्त्री राउतले गरेको सिफारिसलाई प्रदेश प्रमुख डा. राजेश झाले हिजोनै सदर गरेर नयाँ मन्त्रीमण्डलको सूचीसमेत प्रकाशित गरिसकेका छन् । 

राउतले पदमुक्त गरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री निवास छाडेका छन् । सोनलले आइतबार बिहानै मन्त्री निवासी छाडेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सोनलले सामान्य तरिकाबाट एउटा सुटकेस मात्र लीइ मोटरसाइकलमा चढेर मन्त्री निवास छाडेका छन् । सामान्यता पदमुक्त भएको महिनौंसम्म मन्त्री निवास, गाडी र अन्य सेवासविधासमेत नछाड्ने प्रवृति विपरित गएर मन्त्री सोनलले पदमुक्त भएको २४ घण्टा भित्रै मन्त्री निवासी छाडेका हुन् । उनको यस कदमलाई जनताले सराहना पनि गरिरहेका छन् ।

मन्त्रलायका कर्मचारीसहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट सोनलले विदा लिएको स्वकीय सचिव सर्राफले बताए ।

निवासबाट बाहिरिँदै उनले आफ्नो साढे ३ वर्षको कार्यकालमा तत्कालीन राजपा संसदीय दलको नेता र मन्त्रीका रुपमा मधेसको भावना अनुरुप काम गर्ने प्रयास गरेको बताए । उनले यस कार्यको लागि आफूलाई जिम्मेवारी दिएका पार्टीका नेता प्रति उनले आभार व्यक्त गरेका थिए । सोनलले आगामी दिनमा पनि मधेस र प्रदेशको जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

निवास छोडेपछि अहिले उनको जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सर्राफले जनाएका छन् ।

Back to top