×

वीरगञ्ज २४ जेठ । प्रदेश नं २ को प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक सोमवार बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालू पाँचौं अधिवेशन अन्त्य गरेपछि सोमवार बजेट अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रिपरिषद्का सिफारिशमा प्रदेश प्रमुख डा. राजेश अहिराजले सोमवारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८÷०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/७९ को नीति तथा कार्यक्रम सोमवार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख डा. अहिराजले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले बताएको छ । रासस

Back to top