×

सांकेतिक तस्विर ।

वीरगञ्ज २२ जेठ ।  भारतसँग जोडिएको पर्साको सीमा क्षेत्रमा चोरीतस्करीका घटनामा वृद्धि भएको छ। पर्सा प्रहरीले गएका १० महिनामा साविक अवधिभन्दा ३८१ प्रतिशत बढी बरामद सामग्रीको लगत जम्मा भएको जानकारी दिएको छ।

प्रहरीले पछिल्लो १० महिनाभित्र नै अवैध ढंगले चोरीतस्करी गरी नेपाल भित्र्याएका ३१ करोड ९५ लाख ८६ हजार ९ सय २४ रुपैयाँ बराबरको मालवस्तु बरामद गरेको हो। जुन गत आर्थिक वर्षको १२ महिनाको भन्दा २३ करोड ५७ लाख १३ हजार ६ सय १२ रुपैयाँ बढी हो।

पर्सा प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा गत वर्षको १२ महिनाभन्दा चालू आर्थिक वर्षको १० महिनामै ३८१ प्रतिशतले बढी अवैध मालवस्तु बरामद भएको देखिएको छ।

'प्रहरी इमान्दार हुँदा तस्करलाई सकस'

गत वर्षभन्दा ३ सय ८१ प्रतिशत बढी लगतको मालवस्तु बरामद हुनुमा प्रहरीको इमान्दारितापूर्ण सक्रियता भएको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डे दाबी गर्छन्‌। ​प्रहरीले निष्ठापूर्वक जिम्मेवारी वहन गर्दा बरामद सामानको तथ्यांक पनि निकै बढेको उनको तर्क छ।

‘खुला सीमा छ। कतिपय ठाउँमा दशगजा वारिपारि एउटैको जमिन छ। कतै दशगजा क्षेत्रमै झुरुप्प बस्ती जोडिएको छ। सीमा नजिकका कतिपय मानिस पनि थोरै मौका मिल्नासाथ वैधभन्दा अवैध कमाइ गर्ने लोभ पस्दा अवैध कारोबार बढेकोले नै अवैध मालवस्तु बरामद तथा पक्राउ तथ्यांक पनि बढेको हो,' उनले भने। 

अवैध कारोबारमा निर्लिप्त कतिपयले यही सीमालाई प्रयोग गरी अवैध आर्थिक लाभ लिनकै लागि दोहोरो नागरिकता लिएर घरजम गर्ने गरेका छन्‌। पछिल्लो समयमा धेरै मानिसमा बढेको गलत मनोबल पनि गतल बाटोबाट ह्वात्तै आर्थिक लाभ लिन उद्धत गराउने सुक्ष्म तथ्य भएको प्रहरी अधिकारीहरूले बताइरहेका छन्‌।

​कोरोना महामारी र राजनीतिक तानातानको अहिलेको अवस्थालाई पनि अवैध कारोबार गर्नेले मौकाको रूपमा प्रयोग गर्न खोजेको देखिएको छ। 'तर,शान्ति सुव्यवस्थाका लागि सीमा क्षेत्रमा खटेको प्रहरी चुप लागेर त बस्दैन, गलत कारोबार गर्ने अब उम्किन सक्दैन,' प्रहरी उपरीक्षक पाण्डेले भने।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पनि प्रहरीको इमान्दार प्रयास र सक्रियताले नै तथ्यांकगत रूपमा पनि बरामद सामानको लगत बढी देखिएको तर्क गरे।

कात्तिकमा बढी बरामद 

पर्सा प्रहरीले चालू आर्थिक वर्षको कात्तिक महिनामा अवैध तरिकाले नेपाल भित्रिएको सबैभन्दा बढी मालवस्तु बरामद गरेको लगतले देखाएको छ।

सो महिनामा मात्र कूल १९ करोड ५८ लाख १६ हजार रुपैयाँको मालवस्तु बरामद भएको देखिन्छ। कात्तिक महिनामै बढी देखिनुमा त्यो महिनामा सुन पनि बरामद भएकोले लगत बढी देखिएको पर्सा प्रहरीले जनाएको छ।

गत आर्थिक वर्षको पुस महिनामा अवैध मालवस्तु सबैभन्दा बढी अर्थात १ करोड १६ लाख ६० हजार रुपैयाँको बरामद भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ।  

मुख्यगरी मरिच, केराउ, सवारी साधन, विद्युतीय सामान, विभिन्न मेशिन वा सवारीका पार्टपुर्जा, लत्ताकपडा, किराना तथा खाद्यान्न सामान, सुनचाँदीका गरगहना, तेल र मसला लगायत अन्य सामान बरामद हुने गरेको छ।

माथिदेखि तलसम्म गलत दाउपेच : बुद्धिजीवी 

सीमा नजिकमा अवैध कारोबार गर्न मन बढ्नेहरू राजनीतिक दाउपेचको गलत समयमा उत्प्रेरित हुन्छन्। यसले माथिदेखि तलसम्म गलत दाउपेच मौलाउँदा नीति, इमान र कानूनका कुराको धज्जी उड्ने स्थानीय बुद्धिजीवीहरू बताउँछन्‌।

सामान खरिद-बिक्री गरी फाइदा कमाउने कारोबारीहरूले पनि आफूले सकेको राजश्व लुकाएर अतिरिक्त लाभ लिन खोज्ने गरेका छन्‌। कोरोनाले सबैलाई घरमा थुनेको समयमै अवैध कारोबारीहरूले मौका छोप्ने गरेका छन्‌। निषेधाज्ञाले उनीहरूलाई खासै प्रभाव पार्ने गरेको छैन।

आर्थिक चक्र ठप्प हुँदाको परिणाम : डा. शाक्य

‘मानिसको जीवनचक्र र आर्थिक चक्र सँगसँगै जाने कुरा हो, कोरोना कहरको नाममा जीवनचक्र बचाउन खोज्दा आर्थिक चक्र ठप्पै पार्न खोजियो,' वीरगञ्‍जका शिक्षाविद् डा.दीपक शाक्यले भने, 'विकल्प नदिइ यो काम गर्दा वैध बाटोबाट हुँदै आएको आर्थिक गतिविधि अवैध बाटो तर्फ मोडियो, पर्सा प्रहरीको पछिल्लो सार्वजनिक तथ्यांक पनि त्यसैको उपज हो।'

उनले थपे, 'दैनिक उपभोग्य बस्तु त मानिसले जसरी पनि पूर्ति गर्नैपर्छ। त्यसो गर्दा गलत बाटोको प्रयोग बढ्न थाल्यो। सयमा सम्बन्धित पक्ष चनाखो हुनुपर्छ।'

कानूनको बलमिच्याइँ बढ्दा तथ्यांक फरक 

पर्साका अर्का बुद्धिजीवी डा. विश्वम्भर शर्मा पनि अवैध कारोबार बढ्ने कारण खुला सीमा, मानिसको कानूनप्रतिको बलमिच्याइँ र मालवस्तुको मूल्य वृद्धिको प्रभाव मुख्य कारण भएको तर्क गर्छन्।

‘मानिसमा पैसाले गर्दा नैतिकता पनि लोप हुँदै गयो, सबैथोक पैसा हो भन्ने गलत सोचाइ बढ्दै गएको छ। तथापि; राज्यले कुनै न कुनै बाटोबाट गलतलाई निस्तेज पार्छ नै! लामो समयसम्म अवैध धन्दा टिक्न सक्दैन,' डा. शर्माले भने। यो समाचार तुलसी भण्डारीले थाहाखबर डटकममा लेखनु भएको छ।

Back to top