×

२२ जेठ । अर्जेन्टिना र चिलीका प्रशिक्षकले कोपा अमेरिका आयोजनाका लागि ब्राजिल उपयुक्त नरहेको दाबी गरेका छन् । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित विश्वकप छनोट खेलमा उनीहरुले यस्तो धारणा राखे । यसअघि अर्जेन्टिना र कोलोम्बियामा संयुक्त रुपमा कोपा अमेरिका आयोजना हुने तय भएको थियो  ।


तर आन्दोलन चलिरहेकाले अन्तिम अवस्थामा आएर कोलम्बियालाई आयोजनाबाट वन्चित गरियो । प्रतियोगिता सुरु हुन दुई साता पनि बाँकी नरहेको अवस्थामा गत आइतबार ब्राजिललाई नयाँ आयोजक तोकियो । र, अर्जेन्टीनाले पनि आयोजनाका अधिकार गुमायो । ‘हामी जानुपर्छ भने जान्छौं र कोपा अमेरिकामा उत्कृष्ट दिने प्रयोग गर्छौ’ अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘तर अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन् । इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन ।’ दक्षिण अमेरिकी देशहरु कोरोनाबाट सर्वाधिक मारमा छन् । ‘स्वास्थको कारण देखाएर अर्जेन्टीनालाई अधिकारबाट वन्चित गरियो र कोलम्बियालाई पनि गरियो । र, यो अवस्थालाई स्वीकार्न साँच्चै गाह्रो हुनेछ ।’


१३ जुनबाट कोपा अमेरिका सुरु हुँदैछ । तर अहिलेसम्म पनि खेल स्थल तय भइसकेको छैन । चिलीका प्रशिक्षक मार्टिन लासर्टे पनि चिन्तित छन् । ‘मेरा लागि यो  ठूलो जोखिम लाग्छ किनकि पहिलो स्वास्थ आउँछ ।’ विश्वमा कोरोना भाइरसबाट ब्राजिलीहरु ऋति प्रभावित छन् । यहाँ ४ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्, जो अमेरिकाभन्दा मात्रै कम हो । त्यस्तै, संक्रमित संख्याका हिसाबले अमेरिका र भारतपछि ब्राजिल तेस्रो स्थानमा छ । यहाँ १ करोड ६५ लाख जनसंख्या संक्रमित भइसकेको छ । त्यही कारण ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णयको धेरैले आलोचना गरेका छन् । धेरै मानिसहरुले यसलाई ‘मजाक’ भनेका छन् । 


यता, ब्राजिलभन्दा झन्डै पाँच गुणा कम जनसंख्या रहेको अर्जेन्टिनामा पनि ३८ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ भने ७८ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरस संक्रमणका कारण अर्जेन्टिनका गोलकिपर फ्रान्को अर्मारी र फुलब्याक गोन्जालो मोन्टियलले प्रतियोगिता गुमाउने तय भइसकेको छ । अस्पतालमा उपचाररत चिलीका भेट्रान मिडफिल्डर अर्टुरो भिडालले पनि प्रतियोगिता गुमाउनेछन् । 

विश्वकप छनोटमा १–१ गोलको बराबरी 

चिली र अर्जेन्टिना बीचको विश्वकप छनोट खेल एक एक गोलको बराबरीमै टुंगिएको छ । अर्जेन्टिनाको सान्टियागो डेल ईस्ट्रोेमा आयोजित बिहीबारको खेलमा लियोनल मेसीले अर्जेन्टीनालाई अग्रता दिलाए पनि चिलीबाट एलेक्सिजले बराबरी गोल फर्काए ।

यस बराबरीपछि ब्राजिललाई उछिनेर शीर्ष स्थानमा पुग्ने अर्जेन्टिनो योजना सफल भएन । विश्वकप छनोटमा चार खेल खेलेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको अर्जेन्टिनाले ५ खेलबाट ११ अंक जोड्यो । चार खेल खेलेको इक्वेडर ९ अंक सहित तेस्रो र ५ खेलबाट ७ अंकसहित पाराग्वे चौथो स्थानमा छ । पाँचौ स्थानको कोलम्बिया र छैटौं स्थानको उरुग्वेको पनि समान ७ अंक छ । सातौं स्थानमा रहेको चिलीले ५ खेलबाट केवल ५ अंक जोडेको छ ।  

Back to top