×

बीरगञ्ज २१ जेठ । मानव बलिका लागि भारत तर्फ लैजान लागिएको आशंकामा पर्सा प्रहरीले २ किशोरी, एक नावालकको उद्धार गरेको छ भने उनिहरुलाई लैजान खोज्ने दुई जना मानव तस्करलाई नियन्त्रणमा लिएको छ ।


तनहुँ जिल्लाको ब्यास नगरपालिकाकी २२ र २० बर्षिया युवती, र उनको २ बर्षिय नावालक छोरालाई युवतीको नातामा आमाजु पर्ने सीता थापा क्षेत्री उर्फ सकिना खातुन र उनका श्रीमान भारतीय नागरिक असुगर सैफीले लकडाउनको समयमा गोर्खाबाट नेपालगंज लैजाने भन्दै बीरगञ्ज ल्याएको र बीरगञ्जबाट भारतको बेतिया तर्फ लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


गोर्खाबाट आएका पिडित युवतीहरुलाई शंका लागि स्थानियसँग सोधपुछ गर्दा बेतिया भारतमा भएको बताएपछि मानव तस्करको पोल खुलेको थियो । घटना विवरण अनुसार केही दिनअघि सकिनाले उनीहरुलाई नेपालगन्जमा एउटा पूजा हुँदैछ र सो पुजामा महिनावारी नभएको दिन एक घन्टा सहभागी भए एक लाख रुपैयाँ पाइन्छ भन्दै दुई युवतीलाई लिएर टिपर मार्फत बीरगञ्ज आई पुगेको प्रहरी समक्ष पिडितहरुले बताए । 

पुजामा सहभागि भएवापत पैसा पाउने प्रलोभनमा आएका दुई युवती १७ गते वीरगञ्ज स्थित एक होटलमा बसेको र १८ गते विहान रक्सौल हुदै भारत जाने क्रममा युवतीहरुलाई शंका लागेपछि उनिहरुले रिचार्ज किन्ने वहानामा वीरगञ्जको एक पसलमा आफूहरुको उद्धार गर्न आग्रह गरेका थिए ।

पिडितको आग्रह पछि स्थानियले दुई युवती, एक बालक र सकिना दम्पतीलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको हो । 


प्रहरीले पीडित दुई युवती र नाबालकलाई मानव बेचबिखन विरुद्धमा काम गरिरहेको संस्था आफन्त नेपालको संरक्षण गृहमा पठाएको र घटनाको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दुई युवतीसहित नाबालक उद्धार भएको घटनामा मानव बलीकै लागि भारत लैजान लागिएको शंका उब्जिएको बताए ‘लकडाउनको समयमा गोर्खा देखि बीरगञ्ज सम्मको बाटो यात्रा गर्नु र पूजामा सहभागी हुने भनेर बताउनुले मानव बलीका लागि हो कि भन्ने आशंका उब्जिएको र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको पर्साका प्रहरी उपरीक्षक पाण्डेले बताए । 

Back to top