×

डा. आशिष झा

मधेसी नेता बीचको किचलो मधेसको टोल-टोलको, घर-घरको कथा हो । कुनै नौलो कुरा होइन ।

एक-अर्कासँग निरन्तर बाझिरहने जात हो मधेसीको । सद्भाव, समन्वय र सहकार्यले सामुहिक स्तरोन्नति हुन्छ भन्ने मूलभूत विवेक नभएको जात हो मधेसीको ।

धन्य नागढुङ्गाको त्यो पवित्र सीमा, जहाँ प्रविष्ट हुनसाथ, यादव होस् कि ठाकुर, सदा होस् की अन्सारी, “धोती/भैया” नामक साझा अभिवादनले राष्ट्रको सामाजिक, राजनीतिक वृत्तमा यिनको साझा औकात के हो, रिमाइन्ड गराईरहन्छ । हिफाजत मियाँ होस् की चन्दन पटेल, नीकु यादव होस् की रोहण चौधरी, जब भुराबाल, बहुजन, हिन्दु, मुस्लिम बीच कुनै किसिमको भेदभाव नगरी एकनासे क्रूरताले चलेको गोलीले टाउको र छाती छियाछिया बनाउँछ, तब यिनलाई यिनीबीच धेरै असमानता नरहेको अनुभूति हुन्छ । छोटकरीमा भन्नुपर्दा एउटा साझा समस्याले गर्दा एकै ठाउँ आउन बाध्य भएको जात हो मधेसीको ।

जसरी भूकम्पले भूकम्प पीडितहरुको एउटा समूह खडा गर्छ, त्यसरी नै राज्यद्वारा बहिस्कार र राज्य-निकट समाजद्वारा तिरस्कारले जन्माएको एउटा भावनात्मक एकाई हो मधेसी । जसरी भूकम्प/बाढी-पीडितले हरेक दुर्घटना पश्चात सत्ता र दाताको मुख ताकेर मूल समस्या समाधान हुने होइन, त्यसरी नै मधेसले घडी नेपाल सरकारको त घडी भारतीय सहयोको भर परेर मुख्य मुद्दा समाधान हुने होइन ।

स्थायित्वको लागि पीडित बीच निरन्तर एकता र सहकार्य अपरिहार्य हुन्छ । भावनात्मक एकतालाई सुदृढ राजनीतिक शक्तिमा परिवर्तित गर्नु अपरिहार्य हुन्छ । मधेसी दलितका नागरिकता अधिकार र समतामूलक समावेशीकरणको लडाई कुनै दिक्षित वा भट्टराईले लडिरहेका होइनन्, तिनै भूराबाल कहलिने मधेसी नेतृत्वले लडिरहेका हुन् । दिक्षित र भट्टराईले अझैसम्म खस-आर्य आरक्षणको बेजोड विरोध गरेको सुनिएको छैन । मधेसी भुराबालले भुराबाल आरक्षण मागेको सुन्नुभएको छ कहिल्यै?

एउटा मधेसी व्यक्तिले वर्दीवाला ठकुरीभन्दा वर्दिवाला ठाकुर/यादव/महतो सामु पक्कैपनि बेसी सुरक्षित महसुस गर्छ होला । मधेसी वर्दिवालाले धेरै भए लट्ठी ठटाउँछ होला । गोली पक्कैपनि ठोक्दैन होला । काठमाडौँका धूर्त मीडिया र केही थान नागरिक “फेयर वेदर फ्रेन्ड्स” को धृतराष्ट्र आलिंगनले मधेसभित्रको अन्तरजातिय विभेद निर्मूल हुने होइन । मधेसी-मधेसी बीचको समन्वयले नै यसको स्थायी समाधान सम्भव छ ।

गरौँला दिक्षित, भट्टराईहरुसँग पनि हातेमालो, तर पहिले तिनको हैसियत त प्राप्त गरिहालौँ । अहिलेको अवस्थामा मधेसी उत्थानको विकल्प यादव अथवा ठाकुर अथवा राउत होइन की, यादव र ठाकुर र राउत हुन् । नेतृत्व र जनताले यो कुरा जति छिटो आत्मसात गर्छन् उति नै परिणाम मूलक होला । 

(झाको फेसबुकबाट लिइएको ।)

Back to top