×

वीरगञ्ज । मुख्य व्यापारिक नाका र औद्योगिक कोरिडोरलाई समेटेको प्रदेश २ औद्योगिक लगानीमा भने पिछडिएको सरकारी तथ्यांकले देखाएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ ले प्रदेश २ लाई उद्योग र औद्योगिक लगानीमा निकै पछाडि देखाएको हो ।

सर्वेक्षणलाई आधार मान्ने हो भने औद्योगिक लगानीमा प्रदेश २ भौगोलिक र भौतिक रूपले विकट मानिएको कर्णाली प्रदेशभन्दा पनि पिछडिएको देखिन्छ । निजीक्षेत्र भने सरकारी तथ्यांकमा विश्वस्त छैन । आर्थिक सर्वेक्षणको तथ्यांक तथ्यमा आधारित नरहेको दाबी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ ।

आयातनिर्यात व्यापारको परिमाणमा हिसाबले प्रमुख नाका वीरगञ्ज २ नम्बर प्रदेशमै पर्छ । भारतीय समुद्री बन्दरगाहसँग निकट र देशको मध्यभागमा रहनुले वीरगञ्जमा कच्चा पदार्थ र तयारी वस्तुको ढुवानी पनि सहज छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर सबैभन्दा ठूलो औद्योगिक केन्द्र मनिन्छ । तर, आर्थिक सर्वेक्षण हेर्दा प्रदेश २ मा औद्योगिक लगानीको परिमाण पुछारबाट दोस्रोमा देखिन्छ । यो प्रदेशले औद्योगिक लगानीमा सुदूरपश्चिमलाई मात्र पछि पारेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक आर्थिक सर्वेक्षणमा समावेश गरिएको छ । तथ्यांकअनुसार प्रदेश २ मा कुल औद्योगिक लगानी १ खर्ब १९ अर्ब रुपैयाँ छ । कर्णाली प्रदेशमा यस्तो लगानी १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको देखिन्छ । तर, प्रदेश २ मा उद्योग दर्ता संख्या ५६४ हुँदा कर्णालीमा ७८ मात्रै छ ।

उद्योगको संख्यामा समेत प्रदेश २ पाँचौ स्थानमा छ भने कर्णाली अन्तिममा छ । घरेलु तथा साना उद्योगको संख्यामा प्रदेश २ तेस्रो स्थानमा छ । कुल २२ खर्ब ४५ अर्ब रुपैयाँ औद्योगिक लगानीमा ८ खर्ब २२ अर्बसहित वाग्मती प्रदेश सबैभन्दा अगाडि छ । सुदूरपश्चिममा सबैभन्दा कम ३९ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ ।

उद्योग विभागमा दर्ता ८ हजार ३८४ उद्योगमध्ये वाग्मतीमा सबैभन्दा बढी ५ हजार ४५० उद्योग छन् । तर, केन्द्रीय तथ्यांक विभागले २०७५ मा गरेको प्रथम आर्थिक गणनाको प्रतिदेनले फरक तथ्यांक देखाउँछ । प्रदेश २ मा १२ हजार ६५४ ओटा औद्योगिक उत्पादनमूलक प्रतिष्ठान रहेको आर्थिक गणनामा उल्लेख छ । जब कि, कर्णालीमा यस्ता प्रतिष्ठानको संख्या ४ हजार ४२८ देखाइएको छ ।

आर्थिक गणनाअनुसार देशभरिका कुल ९ लाख २२ हजार ४४५ औद्योगिक र व्यापारिक प्रतिष्ठानमध्ये प्रदेश २ मा १३ प्रतिशत र कर्णालीमा ५ प्रतिशत छन् । यस्ता प्रतिष्ठान २ नम्बर प्रदेशमा १ लाख १७ हजार ५८८ ओटा छन् ।

आर्थिक गणनाले कर्णालीमा यो संख्या ४२ हजार ८१७ फेला पारेको छ । सबैभन्दा बढी संख्या २ लाख ८२ हजार ५६ (३० प्रतिशत) वाग्मती प्रदेशमा छन् ।

सरकारी तथ्यांकमा देखिने विरोधाभासले यसको विश्वसनीयतामा आशंका बढ्दै गएको उद्यमी एवम् विश्लेषक जगदीशप्रसाद अग्रवाल बताउँछन् ।

‘बेग्लाबेग्लै अध्ययनले फरकफरक तथ्यांक निकाल्छन् । यस्ता तथ्यांक भरपर्दो नहुँदा नीति निर्माणमा प्रतिकूल प्रभाव परिरहेको हुन्छ,’ अग्रवालले भने ।

सरकारी अध्ययन र सर्वेक्षणहरू सजिलै प्राप्त हुने तथ्यांकमा भर पर्दा सतही हुने गरेको अध्यक्ष लाठ बताउँछन् । ‘भौगोलिक सहजता र भौतिक पूर्वाधारसहितको सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगञ्जमा छ । उद्योग र लगानी अन्त बढी हुन सक्दैन । तथ्यमा आधारित सर्वेक्षणको खाँचो छ,’ उनले आर्थिक अभियानसित भने ।

उद्योग दर्ता र लगानी परिमाणको तथ्यांकभन्दा उत्पादनको परिमाण कहाँ बढी छ भनेर केलाउँदा तथ्यनजिक पुग्न सकिने तर्क उद्यमी अग्रवालको छ ।

Back to top