×

वीरगञ्ज, १९ जेठ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पर्सा जिल्लामा कोरोना भाइरसको संक्रमण तथा मृत्यु दर घट्दै गएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणका कारण दैनिक १० देखि १५ जनासम्म कोरोना संक्रमितको मृत्यु हुने वीरगञ्जमा अहिले दैनीक बढीमा २ जनासम्मको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । 

जेठको पहिलो सातासम्म उत्कर्षमा रहेको संक्रमण तथा मृत्युदर दोस्रो सातादेखि कम हुँदै तेस्रो सातासम्म आउँदा अत्यन्तै न्युन रहेको छ । बैशाख ३० गते १३ जनाको, ३१ गते पर्सा जिल्लाका ५ र अन्य जिल्लाका ९ जना गरी १४ जनाको मृत्यु भयो । जेठ १ गते पर्सा र अन्य जिल्लाका गरी १५ जना संक्रमितको मृत्यु भयो । 

वीरगञ्जको अवस्था कस्तो भयावह थियो भन्ने पनि यो तथ्यांकले प्रस्ट पार्छ । तर त्यतिबेलाको जस्तो भयावह र डराउनुपर्ने अवस्था भने अहिले छैन । त्यस्तो अवस्था छैन भन्दैमा फेरी खुशी हुनुपर्ने अवस्था पनि अँझै भइसकेको छैन । ‘दुःखमा आत्तिने र सुखमा मात्तिने’ हामी नेपालीको प्रवृती छ । जसका कारण पहलो चरणको कोरोना भाइरसले आजित बनाएका हामी पुनः दोस्रो चरणको भाइरसबाट पनि झनै भयभित हुनुका साथै सतर्कता पनि अपनाउन थाल्यौँ । अब तेस्रो चरणको भाइरस पनि पुष्टि भइसकेको समाचारले झनै त्रास बढाएको छ । त्यसको पूर्व तयारी पनि स्थानीय प्रशासन र स्थानीय तहहरुले गरीरहेका छन् । 
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पर्सा जिल्लामा संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । शुरुमा १ साताका लागि जारी गरिएको निषेधाज्ञा ५ पटकसम्म थप्दा बुधवार निषेधाज्ञाको ३४ औँ दिन पुगेको छ । निषेधाज्ञामा अति आवश्यक कामबाहेकका सबै कामहरु र कार्यालयहरु बन्द छन् । जसका कारण आम नागरिकको दैनीकी नै प्रभावित भएको छ । अँझ त्यसमा पनि न्युन आर्थीक अवस्था भएका र नियमित ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाहरुको अवस्था चिन्ताजनक छ । 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी निषेधाज्ञा खोल्नुपर्ने पक्षमा छन् । लामो समयसम्मको निषेधाज्ञाका कारण हरेक क्षेत्र प्रभावित भएको हुँदा अब बिस्तारै पुरानै गतिमा फर्काउनुपर्ने नगरप्रमुख सरावगीको धारणा छ । व्यवस्थित तरिकाले सुरक्षा मापदण्डको पालना गर्दै भिडभाड नहुने हिसावले निश्चित समयअवधि तोकेर सञ्चालन गर्दा नियन्त्रण हुन सक्ने सरावगीको बुझाई छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुुर पाण्डेले निषेधाज्ञाको अवधि लम्ब्याएर जनताको दैनिकी प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको स्वरुपमा परिवर्तन गर्न सकिने बताए । संक्रमणदर कम भएपनि स्वास्थ्य विज्ञहरुको भनाईअनुसार अँझै संक्रमणदरलाई शुन्यमा झार्न पनि स्वरुपमा पुर्न विचार गर्नुपर्ने प्रहरी उपरिक्षक पाण्डेको भनाई छ । 

जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादव पनि सीमानाकामा कडाई गरेर बजार खोल्नुपर्ने बताउँछन् । उनि भन्छन्, ‘समयअवधि घटाएर सुरक्षा मापदण्डको पालना गरी बजार खोले जनताको दैनीकी सहज हुन सक्छ ।’ 

नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्यले निषेधाज्ञालाई विस्तारै खुकुलो पार्दै खोपलाई विस्तार गर्नुपर्ने आवश्यक्ता औल्याँए । सबै नागरिकलाई खोपको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिँदै प्राध्यापक डा. शाक्यले विस्तारै आर्थीक गतिविधिलाई चलायमान बनाउनुपर्ने धारणा राखे । जुलुश, विद्यालय, सिनेमा हल लगायतलाई खोले पुनः महामारीको चक्रमा फस्ने सम्भावना हुँदा अहिले यी क्षेत्रलाई बन्द राख्नुपर्ने शाक्यको कथन छ । 

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. बिरेन्द्र बहादुर पधान पनि विगतको तुलनामा पर्सा जिल्लामा संक्रमण दर घटेको स्विकार गर्छन् । पहिले महंगो शूल्क तिरेर पिसिआर परीक्षण गर्नेको भिड हुने गरेकोमा अहिले निःशूल्क परीक्षण हुँदा पनि परीक्षण गर्न नआउनुको अर्थ संक्रमणको दर घटेको हुन सक्ने प्रधानले बताए । नारायणी अस्पतालमा परीक्षणदेखि उपचारसम्मको सेवा सुविधा सहज रुपमा प्रवाह भइरहेको बताउँदै डा. प्रधानले तेस्रो चरणको भाइरस प्रवेश गर्न नदिन पूर्वतयारी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारीले कोरोना भाइरसको रोगभन्दा पनि नागरिक भोकले मर्नुपर्ने अवस्था आएको बताए । यसरी निषेधाज्ञा मात्रै थप्ने र जनतालाई कुनै सहुलियत नदिने सरकार कर मात्रै असुल्न केन्द्रित भएको पटवारीको भनाई छ । 

यता वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारी कोरोना भाइरस संक्रमणको दर कम भएपनि देशको राजनीतिक उथलपुथको दर बढ्दै गएको टिप्पणी गर्छन् । देशमा बढ्दै गरेका राजनीतिक गतिविधिले जस्तोसुकै अवस्थाको सृजना हुने र विरोध तथा जुलुशका नाराहरु बजारमा लाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकार निषेधाज्ञा लाद्ने पक्षमा रहेका हुन सक्ने अन्सारी बताउँछन् । ‘नेताहरुको राजनीतिक गतिविधिको प्रतिफल आम नागरिकले भोग्न नपरोस् भन्नका लागि पनि निषेधाज्ञालाई खुकुलो पारी अवस्था चलायमान बनाउ आवश्यक छ, उनले भने ।
 

Back to top