×

वीरगञ्ज, १८ जेठ । कोरोना भाइरसको महामारीका कारण चौतर्फी क्षेत्र प्रभावित भइरहेको अवस्थामा मनोरञ्जन क्षेत्र झन अछुत हुने कुरै भएन । 

पहिलो चरणको कोरोना भाइरस संक्रमणकै कारण नेपालका झण्डै २२ सिनेमा घर कहिल्यै नखुल्ने गरी बन्द हुने अवस्थामा छन् । झण्डै ९ महिनासम्म थला परेको मनोरञ्जन क्षेत्र चलायमान हुनै लाग्दा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले उठ्नै दिएन । अहिले पुनः मनोरञ्जन क्षेत्र ठप्प अवस्थामा छ ।

दोस्रो लहरको कोरोेना भाइरस संक्रमणका कारण वीरगञ्जसहित देशैभरका झण्डै ३ दर्जन सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् । वीरगञ्जका त्रिमुर्ती हल, श्रीराम हल, ए म्याक्स सिनेमा हल लगायतका देशैभरीका हलहरु बन्द अवस्थामा रहेको श्रीराम हलका सञ्चालक सूर्यांश कलवारले बताए । 

पहिलो चरणको कोरोना भाइरसको आगमन हुनुभन्दा केही समयअघि मात्रै अत्याधुनिक सेवासुविधासहित सञ्चालनमा आएको ए म्याक्स सिनेमा हल सँधैका लागि बन्द गर्ने हलका सञ्चालक अनिल सर्राफले बताए । उनले भने, ‘१४÷१५ जना स्टाफ थिए । अब ९ जनालाई आधा तलब दिएर राखेको छु । त्यही आधा पनि कसरी दिने हल चलेकै छैन कमाई केही छैन ।’ ‘बैंकले पनि पुरै किस्ता लियो, केही राहत र सहुलियत पाइएन । सरकारले हामीलाई व्यवसायी मानेन जस्तो लाग्यो’, उनको दुखेसो छ ।

हलमा राखिएका १६ वटा एसी बिग्रिए । साउण्ड सिस्टम, पर्दा, कुर्सी सबै काम नलाग्ने अवस्थामा छन् । करोडौको लगानी चौपट्टै भयो ।  कोरोनाका कारण १ वर्षभन्दा लामो समयदेखि बन्द रहेका सिनेमा हल बन्द हुने अवस्थामा पुगेको त्रिमुर्ती सिनेमा हलका बसन्त भक्कडले बताए । पहिलो चरणमै शुरुमा झण्डै ९ महिनासम्म बन्द रहेका हलका उपकरण तथा अन्य सामाग्रीहरु पिन बिग्रिएको भक्कडको भनाई छ ।

उनका अनुसार नयाँ भेरियन्टसहितको कोरोना संक्रमण हुनुअघि पुरानै अवस्थामा फर्किदै गर्दा नयाँ उपकरणहरु खरिद गरेर जडान गरेको र फेरी बन्द हुँदा ति उपकरण समेत बिग्रिने अवस्थामा पुगेका छन् । जसका कारण २० देखि २५ लाखसम्मको लगानी डुबेको भक्कडले बताए । विद्युत महशुल समेत बुझाउन नसकिएको र सरकारले पनि हल सञ्चालकहरुको लागि कुनै राहतका कार्यक्रम नल्याएको भन्दै भक्कडले गुनासो गरे । 

वीरगञ्जमा साढे २ दशकभन्दा लामो समयदेखि सञ्चालित श्रीराम हलको अवस्था पनि चिन्ताजनक छ । शुरुमा हलले राम्रै बजार लिएको थियो । तसर्थ हलका सञ्चालकद्वय हरीवंश कलवार र सुर्यांश कलवारले श्रीराम हललाई मल्टिप्लेक्समा परिणत गर्ने योजनाअनुरुप अर्काे ठाउँमा बजरंग हल पनि सञ्चालन गरे । सस्तो र सर्वसुलभ सेवामा बजरंगलाई बनाएर श्रीराम हललाई मलको रुपमा परिवर्तन गर्ने सपना सपनामै सिमित छ । अब परिस्कृत गरेर चलाउनेभन्दा पनि बन्द गर्नुपर्ने अवस्था आएको सुर्यांश कलवार बताउँछन् ।

शुरुमा ९ महिना बन्द हुँदा सबै सामाग्री समेत बिग्रिएर २० लाख रुपैँया लगानी गरी नयाँ ब्याट्री, युपिएस, नयाँ सिट लगायतमा लगानी गरेको २ महिना नबित्दै पुनः बन्द हुँदा लगानी डुबेको कलवारको भनाई छ । २ वटा हलको लगभग ३ करोड ऋण तिर्न र स्टाफको तलब दिन समस्या भइरहेको उनले बताए । यति धेरै मारमा पर्दा पनि सरकारबाट कुनै सहुलियत  र आर्थीक प्याकेज नपाउँदा व्यवसाय नै बन्द गरेर पेशा नै परिवर्तन गर्नुपर्ने हल व्यवसायीको भनाई छ । 
 

Back to top