×

सुशिल पन्त ।  

शनिवारको फुर्सदिलो दिन थियो । हुन त पेशाले पत्रकार परियो । ‘कानो गोरुलाइ औसि न पुर्णे’ भनेजस्तै पत्रकारलाई के को आइतवार के को शनिवार । कतिबेला के काम पर्न सक्छ थाहै हुँदैन । तर शरीरलाई अलिक सञ्चो नभएको आभाष भएपछि जेठ ८ गते मध्यान्हतिरको समय थियो । कोठाकै ओच्छ्यानमा स्वतन्त्र भएर पल्टिदै मोवाइलमा फिल्म हेर्दै थिए । म साउथ इन्डियन फिल्मको शौकिन पनि हुँ । तर कार्यव्यस्तताले फिल्म हेर्ने समय नमिल्ने भएकाले फुर्सद पाउने वित्तिकै समय कटाउने माधयम बन्छ फिल्म मेरा लागि ।

फिल्मकै कथाको गहिराईमा डुबेर आफुलाई नै फिल्मको हिरो सम्झेर अनुभव गरीरहेको समयमा मोवाइलमा म्यासेजको नोटिफिकेशनले मेरो ध्यान खिँच्यो । फिल्मको कथाभन्दा पनि के म्यासेज आयो भन्ने कौतुहलता मनमा खेल्न थाल्यो । धेरै विश्वस्त भएपनि थोरै आशंका थियो । विश्वस्त के मानेमा भने केही समयअघि गरेको पिसिआर परक्षणको रिपोर्टको म्यासेज हुनुपर्छ भन्नेमा । अनि आशंका रिपोर्ट नेगेटिभ आइदियोस् भन्ने । तर आशंकाको अगाडी विश्वासले जित्यो ।

रिपोर्ट साँझ सम्म आउनुपर्नेमा छिटै आयो । त्यो दिन साँझ सम्मै रिपोर्ट आएको भएपनि केही घण्टा त ढुक्कसँग बस्थे भन्ने पनि मनले सोच्यो । तर दिउँसै आएको पोजेटिभ रिपोर्टले बेचैनी यसरी बढायो की मलाई आफ्नोभन्दा पनि भर्खरै दुई बसन्त पार गरेको छोराको पिरले पिरोल्यो । पुरुषहरु सितीमिती आँसु देखाउँदैनन् भन्छन्, तर त्यो बेला मेरा नयनहरु रसाएर मुल फुटेर पानी बगेजस्तै आँसुका वर्षाले मेरा सुकेका ओभाना गाला भिजेको पत्तो पाएनछु । 

रिपोर्ट पोजेटिभ आउन सक्छ भन्नेमा ढुक्क भएरै म मानसिक रुपमा तयार थिए । मनोवल उच्च राख्नुपर्छ भनेर आफैले अरुलाई सिकाएको सम्झिए । तर अरुलाई सिकाउन जति सहज छ आफुले आफ्नो आत्मबल बलियो बनाउन त्यति नै असहज भयो मलाई । भनिन्छ नी आफु नमरी स्वर्ग देखिँदैन भनेर ठ्याक्कै त्यस्तै भयो । 

४ दिनको विदापछि म ३ गते मात्रै अफिसको नियमित काममा फर्किएको थिए । ४ गते बिहान पनि अफिस जाने तर्खर गर्दा एक्कासी शरीर दुख्न थाल्यो । मैले अफिसमा आउन ढिला हुने जानकारी गराएर आराम गरे । केहि राहत महसुस भएपछि दिउँसो साढे १२ बजे तिर म अफिस गए । अफिसमा काम गर्दा गर्दै फेरि शरीर दुख्ने, शरीर तात्ने र कमजोरीको महसुस भयो । अनि मलाई कोभिडको शंका लाग्यो । ४ बजेतिर अफिसमा जानकारी गराएर घर फर्किए र सेल्फ आइसोलेटेड भएर बसे ।

३ दिन होम आइसोलेसनमा बसेपछि पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी दाईसँग समन्वय गरेर ७ गते पिसिआर परीक्षण गराए । ४ गते लक्ष्ण देखेर आइसोलेटेड भएर बसेदेखि नै मस्तिष्कमा एउटै कुरा खेलीरह्यो । मेरै कारणले २ वर्षीय छोरालाई कोभिड संक्रमण भयो भने ? म निशब्द हुन्छु । अनि फेरी सोच्छु । जति पीडा भए पनि म त सहन सक्छु तर बिचरा उसले कसरी भनोस् बाबा मलाई गाह्रो भयो, बाबा मलाई यस्तो भयो, त्यस्तो भयो । कोरोना भन्दा बढी यस्तै यस्तै कुराले गलायो मलाई ।

एउटै घरमा भएर पनि छोरासँग खेल्न नपाएको, उसलाई बोक्न नपाएको अनि अङ्गालोमा बाँधेर टिकटक देखाउन नपाएको धेरै भइसक्यो । उ फेरि टिकटक हेर्न भनेपछि हुरुक्कै ।

सोमबार साँझ मेरै कोठाको बाहिर बसेर फुपूहरुसँग (छोराको फुपू) गफ गर्ने क्रममा छोराले ढाडमा हातले देखाउँदै ऐया भयो भन्दै गरेको आवज मेरो कानमा प¥यो । अनि मनमा चिसो पस्यो । कतै छोरालाई पनि कोरोना त भएन ? मलाई पनि सुरुमा देखिएको लक्ष्ण ढाड दुख्ने नै भएर होला यहि कुराले मलाई शान्त बस्न दिएन । कोठाबाट निस्किएर अलि पर बसे र उसलाई सोधे, ‘के भयो सानु ?’ उसले हातले आफ्नो ढाडमा देखाउदै भन्यो, ‘ऐया भयो ।’ फेरि सोधे, ‘साँच्चै ऐया भयो ? फेरि उसको जवाफ त्यही आयो, ‘अँ साच्चै ऐया भयो ।’ म एकछिन आत्तिए ।

पछि बालरोग विषेशज्ञ डा. युवानिधि बसौलासँग परामर्श गरे । बाबु जन्मिएदेखि नै डा. बसौलालाई नै देखाउदै आएका छौं । उहाँले नआत्तिन आग्रह गर्दै एक पटक पिसिआर गरौं भन्ने सल्लाह दिनुभयो । उहाँको सल्लाह अनुसार नै परिवारका अन्य सदस्यसँगै बाबुको पनि पिसिआरको लागि भरतपुर अस्पतालको कोभिड ल्याबमा परीक्षण भयो । पिसिआर रिपोर्टको नतिजाको व्यग्रताले व्याकुल बनाइरहेको थियो । तिर्खाएको काग पानीको खोजीमा भौँतारिएजस्तै परिवारको नतिजा छिटै अनि नेगेटेभि आइदियोस् भन्ने कामना बाहेक अरु केही गर्न सकिन ।

लगभग १४ घण्टाको प्रतिक्षापछि रिपोर्ट आयो । रिपोर्टले एकातर्फ खुशी पनि बनायो अनि अर्काेतर्फ मनमा चिसो पस्यो । खुशी यो मानेमा की मेरो छोरा र श्रीमतीको रिपोर्ट नेगेटिभ आयो । अनि २ जना बहिनीको रिपोर्ट पोजेटिभ आउँदा मेरै कारण लाग्यो भन्ने पश्चाताप भयो । तर पश्चाताप गर्नु बाहेक विकल्प पनि थिएन ।

श्रीमती र छोरालाई माइती घर पठाएर कोभिड संक्रमित भएका बहिनीहरु र म यतै बस्यौँ । कोभिड संक्रमितहरुले अस्पताल, अक्सिजन, भेण्टिलेटरको अभावमा भोग्नु परेको पीडालाई पत्रकारको नाताले नजिकबाट नियालेको छु ।

त्यस्तै पिडा आफुलाई पनि पर्छ की भन्ने पिरले पिरोलीरहेको बेला छोराको नेगेटिभ रिपोर्ट सम्झिन्छु । अनि पिरलाई पार लगाएर प्रसन्नताको प्रस्फोटन हुँदा शरीरमा बेग्लै उर्जा प्रवाह हुन्छ । यसका अलावा साथीभाईसँग भिडियो कल गर्दा उनिहरुले दिने सकारात्मक अनि उत्प्रेरक कथनले आफु कोरोना संक्रमित हुँ भन्ने पनि बिर्सिन्छु । 


(लेखक एटुजेड समाचारका सह सम्पादक र सिनर्जी एफ एमका प्रस्तोता हुन ।)
 

Back to top